मा‌ओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

मा‌ओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौंः नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। दोस्रो दिनको बैठक बिहान ११ बजे बस्नेछ।

हिजोबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठको मुख्य अजेण्डाहरूमा स्थानीय तह निर्वाचनकाे समीक्षा, आगामी प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल, केन्द्रीय कमिटीको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी सदस्य चयन र कार्यविभाजन लगायत रहेका छन्। त्यसमध्ये केन्द्रीय कमिटीको तीन सय ७३ सदस्यको नाम आइतबारै टुङ्गिएको छ।

भोलिसम्म चल्ने बैठकमा छलफलका लागि नौ वटा अजेण्डा छन्।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिवेदन पेस गर्दै स्थानीय तहको निर्वाचनको परिणाम, गठबन्धन दलहरूबीचको सम्बन्ध, पार्टीभित्रका कमजोरी र आगामी प्रदेश र सङ्घको रणनीतिबारे आफ्ना धारणा राखेका थिए।

सो प्रतिवेदन अध्ययनका लागि केन्द्रीय सदस्यहरूलाई आइतबारै वितरण भइसकेको छ। सोमबारबाट प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ। बैठक मङ्गलबारसम्म चल्नेछ।

यस्तै महाधिवेशन भएको लामो समयमा पनि महत्त्वपूर्ण पदमा पदाधिकारी चयन नभएकाले यसपटक पदाधिकारी चयनको विषयलाई जसरी पनि टुङ्गो लगाउनुपर्ने आवाज पार्टीभित्र उठिरहेको छ।

असार २०, २०७९ सोमबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।