ओली विरुद्ध उभिएका पाँच नेता अकस्मात् किन बसे छलफलमा ?

ओली विरुद्ध उभिएका पाँच नेता अकस्मात् किन बसे छलफलमा ?

काठमाडौँ : नेकपा हुँदा तत्कालीन अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एकै मोर्चामा रहेका तर अहिले विभिन्न दलमा बाँडिएका पाँच नेताबिच आइतबार छलफल भएको छ।

नेकपाका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम अनि नारायणकाजी श्रेष्ठबिच छलफल भएको हो।

अहिले प्रचण्ड र श्रेष्ठ माओवादी केन्द्रमा छन्। नेपाल र खनाल एकीकृत समाजवादीमा छन् भने बामदेव हालै नयाँ दल खोले पनि त्यसबाट पनि निकालिएका थिए।

उनीहरू छलफलमा रहेको तस्बिर माओवादी अध्यक्ष प्रचण्डकी पुत्री गङ्गा दाहाल आफैँले सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी हुन्।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा ओलीसँग विवाद बढेपछि यी पाँचै नेता उनको विपक्षमा उभिएका थिए। पछि एकले अर्कालाई निकाल्ने क्रम सुरु भएसँगै सर्वोच्च अदालतमा विचाराधीन नेकपा नामको रिट टुङ्गिँदा एमाले र माओवादीको एकता टुट्दै दुवै दल यथास्थितिमा फर्किएका थिए।

त्यसपछि ओली र दाहालले एमाले र माओवादी केन्द्र नै ब्युँताए भने नेपाल र खनालसहितको एमाले टिमले एकीकृत समाजवादी पार्टी दर्ता गरे। गौतम लामो समय नेकपा एकता अभियान भनेर बसेका थिए। केही दिन अगाडि अन्य साना दलसँग मिलेर उनले त्यही अभियानलाई पार्टीको आकार दिएका थिए। पछि उनी नै कारबाहीमा परेर पार्टीबाटै निकालिए। छलफलको विषय र भेटको प्रयोजन भने सार्वजनिक भएको छैन। 

असार १९, २०७९ आइतबार १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।