असारको तेस्रो सातामा सेयर बजारले देखायो बजार बढ्ने सङ्केत

काठमाडौँ : असारको तेस्रो साताको पहिलो दिन सेयर बजार बढेको छ। नेप्से परिसूचक ५७.६१ अङ्क बढेर २०८६.३८ विन्दुमा पुगेको छ। आइतबार सेन्सेटिभ इन्डेक्स १०.२२ अङ्क बढेको छ। फ्लोट इन्डेक्स ३.७० अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०८ अङ्क बढेको छ।
आइतबार २ सय ३१ स्टकको ४५ हजार १ सय २० पटकको कारोबारमा २ अर्ब ४८ करोड ४ लाख रुपैयाँ बराबरको ६२ लाख २७ हजार कित्ता सेयरको खरिदबिक्री भयो। ७ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
आइतबार १३ वटै उपसमूहको परिसूचक बढ्यो। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशत बढ्यो भने जलविद्युत उपसमूहको परिसूचक ५.६३ प्रतिशत बढेको छ। वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।
साल्ट ट्रेडिङ्ग कर्पोरेसन, हिमालयन पावर पार्टनर, अपर तामाकोसी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्त र रसुवागढी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
३० स्टकको मूल्य घट्दा बैङ्क अफ काठमाडौँको ऋणपत्रको मूल्य सर्वाधिक ९.३१ प्रतिशत घटेको छ। अन्य स्टकको मूल्य गिरावट दर ४ प्रतिशतभन्दा कम छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। आइतबार यसको २२ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भयो। हिमालयन डिस्टिलरीको करिब ९ करोडको शेयर कारोबार भयो भने शिवम् सिमेन्ट्स, एनआईसी एसिया, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैङ्क, अरुण भ्याली हाइड्रोपावर र अरुण काबेलीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
असार १९, २०७९ आइतबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।