अफगानिस्तानको भूकम्पबाट बाचेकाहरू भन्छन्: ‘यदि अर्को भूकम्पले नमारे गरिबीले पक्कै मार्छ’ 

अफगानिस्तानको भूकम्पबाट बाचेकाहरू भन्छन्: ‘यदि अर्को भूकम्पले नमारे गरिबीले पक्कै मार्छ’ 
Photo: AFP

एजेन्सी : गत हप्ता अर्थात् जुन २२ मा गएको ५.९ म्याग्नीच्युडको भूकम्पले अफगानिस्तानमा जनधनको ठुलो क्षति भयो। सोही भूकम्पबाट पाक्टिका प्रान्तको दुर्गम जिल्ला गयानका नाकिबले आफ्नो घर र घरसँगै आफ्ना बुवाआमा र अन्य चार जना भाइबहिनी गुमाए। सो भूकम्पबाट ११ वर्षीय नाकिब र उनकी ४ वर्षीया बहिनी नेसाब मात्र जीवित रहे। 

‘म र मेरो बहिनी भत्किएको घरसँगै पुरिएका थियौँ। लामो समयसम्म चिच्याइरहेका हामीलाई मेरो काका आएर उद्धार गर्नु भयो। लगत्तै मैले परिवारका अन्य सदस्यहरू कहाँ छन् भनेर खोजे। तर वरपर कसैको पनि न आवाज सुने, न कसैलाई देखे। उनीहरू सबैलाई भूकम्पले निलिसकेछ’ नाकिबले भने। 

संयुक्त परिवारमा हुर्किरहेका नाकिबको परिवारमा कुल संख्यामध्ये ३५ जनाको भूकम्पमा परी निधन भयो अन्य ४५ जना घाइते भए। सो परिवारबाट नाकिब र उनकी बहिनी मात्र जीवित रहे। 

यो नाकिबको मात्र नभई गत हप्ता भूकम्पबाट ज्यान गुमाउने हरेक अफगानी नागरिकको हो। गत हप्ता अफगानिस्तानको दक्षिणपुर्वी खोस्टमा केन्द्रबिन्दु बनाइ गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परि कम्तीमा १ हजार मानिसले ज्यान गुमाएका छन् भने अन्य २ हजारबढी घाइते भएका छन्। 

अफगानिस्तानमा २० वर्षयताकै विनाशकारी मानिएको सो भूकम्पबाट ३५ वटा गाउँ पुर्ण रूपमा क्षतिग्रस्त भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गयान गाउँमा मात्र २५० मानिसले ज्यान गुमाएका छन् । भूकम्पले सबैभन्दा बढी क्षतिग्रस्त बनेको स्थानका बासिन्दाहरू विद्युत् र टेलिफोनबाट वञ्चित बनेका छन्। 

भूकम्पपछि विभिन्न संघ-संस्थाहरुले तालिवान सरकारमार्फत देशभर राहत वितरण गरिरहेका छन्। खाद्यान्न र अन्य सहायता वितरण गर्नेहरूको बढी नै लागे पनि लामो समयदेखिको द्वन्द्वले विक्षिप्त बनेको अफगानिस्तानमा पहिलेदेखि नै भोकमरी चलिरहेको छ। द्वन्द्वले भोकमरी निम्त्याएको अफगानिस्तानका नागरिकलाई हालै गएको भूकम्पपछि भोकमरीको संकट झनै चुलिने भन्दै भूकम्पबाट बाँचेकाहरू थप चिन्तित बनेका छन्।  ‘खानको लागि द्वन्द्वको समयमा त हामीले जसोतसो गुजारा गरिरहेकै थियौ’ गत हप्ता गएको भूकम्पमा परि श्रीमती र दुई छोरी गुमाएका ४२ वर्षीय राहमतुल्लाह राहमनीले अलजजिरासँग भनेका छन्, ‘तर यो विनाशकारी भूकम्पपछि भने हामीलाई बाँच्नै मुस्किल पर्नेछ। तत्कालका लागि राहत स्वरुप टेन्ट र खानेकुरा पाएपनि त्यो कतिन्जेल नै टिक्छ र? भूकम्पले आफन्त र आफ्नो मान्छे मार्यो, भएको घर पनि भत्कायो। अब हामी बाँचेकाहरूलाई गरिबीले अर्को भूकम्पले नभई भोकमरीले पक्कै मार्छ।’ भूकम्पले भत्काएको घर कसरी बनाउने, निकट अन्धकार भविष्यसँग कसरी जुध्ने भन्ने चिन्ता राहमनीको मात्र नभई अधिकांश अफगान नागरिकको चिन्ता हो। 

तालिवानका स्वास्थ्य मन्त्री कलन्दर इबादले गरिबीको चुनौती स्विकार्दै भनेका छन्, ‘अवस्था निकै गम्भीर छ। यहाँका थुप्रै मानिसले आफ्नो घर र आफन्तहरू गुमाएका छन्। बालबालिकाहरूले आफ्ना अभिभावकहरू गुमाएका छन्। विगतमा भएका द्धन्द्धभन्दा भूकम्पपछि यहाँका सबै मानिसहरू मानसिक रूपमा झनै विक्षिप्त बनेका छन्।’ विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले अफगानिस्तानलाई अन्य मुलुकभन्दा बढी मानवीय सहायता प्रदान गरेको पनि स्वास्थ्य मन्त्रीको दाबी छ। 

गत वर्षको असोजमा तालिवानले अफगानिस्तानमा आफ्नो सरकार स्थापना गरेसँगै त्यहाँ मानवीय संकट झनै गहिरो बनेको बताइन्छ। तालिवान सरकार बनेपछि अफगानिस्तानमा गरिबी, भोकमरी, आर्थिक संकट र बेरोजगारी निकै बढेको बताइन्छ। अफगानिस्तानको विविधताले भू-बनोट कारण त्यहाँ खेती किसानीका लागि अनुकूल भूमि छैन। द्वन्द्वका कारण त्यहाँका उब्जाउ भूमि झनै उजाडिएका छन्। 

भूकम्पपछि तालिवान सरकारले भूकम्पबाट मृत्यु भएकाहरूको परिवारलाई जनही १३ सय डलर (१ लाख अफगान) उपलब्ध गराउने घोषणा गरेको छ। संयुक्त राष्ट्र संघले अफगानिस्तानका नागरिकलाई तत्काल १५ मिलियन डलर आवश्यक रहेको अनुमान गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले अफगान नागरिकको लागि तत्काल ११० मिलियन डलर उपलब्ध गराउन अपिल गरेका छन्। 

(अलजजिराका लागि स्टेफेनी ग्लिन्स्कीले तयार पारेको रिपोर्टबाट अनुवाद गरिएको अंश।)

असार १९, २०७९ आइतबार १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।