पहिरोमा बेपत्ता भएको ३७ घण्टापछि फेला पर्‍यो दुई जनाको शव

पहिरोमा बेपत्ता भएको ३७ घण्टापछि फेला पर्‍यो दुई जनाको शव

पाँचथरः शुक्रबार रातिको पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ। पहिरोमा परी रूपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए।

पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रूपलालको शव हिजो बिहान फेला परेको थियो। रूपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।

शुक्रबार राति १२ः३० बजेबाट स्थानीयको सहयोगमा सुरक्षाकर्मीले बेपत्ताको खोजी थालेका थिए। एक्सकाभेटरको सहायताले पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको हो। रूपलालका तीन सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको र छोरा र कान्छी छोरी अध्ययनका क्रममा झापा थिए।

पहिरो गएका समय रूपलालकै घरमा रहेका उनका काका दलप्रसाद मगर भने उच्छिटिएर बाँच्न सफल भएका थिए। घरभन्दा करिब ३०० मिटरमाथिबाट पहिरो आएको स्थानीयले बताएका छन्।

वर्षाअघि नै सम्पन्न हुनुपर्ने सडक निर्माणको कार्य समयमा सम्पन्न नहुँदा पहिरो गएको स्थानीयको भनाइ छ।

असार १९, २०७९ आइतबार १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।