‘रेस्लिङ च्याम्पियनशिप’को उपाधि नुवाकोटे टाइगरलाई

झापाः मदन भण्डारीको ७१औं जन्मजयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनशिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन्। उपाधिसँगै उनले रु. एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा केरखामा शनिबार आयोजित खेलमा टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराउँदै उपाधि जितेका हुन्। नेपाल रिङ रेस्लिङ सङ्घले संयोजन गरेको प्रतियोगिता १ नं प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो।
प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जिते। उनले उपाधिसहित नगद एक लाख प्राप्त गरे।
डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन्। ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्तरूपमा विजेता बनेका छन्। उपाधिसहित दुवैले रु ७५ हजार प्राप्त गरेको आयोजक कमिटीले जनाएको छ। उनीहरूले स्पाइडरम्यानको जोडीलाई हराएका थिए। मिडल वेट म्याचको च्याम्पियन साइन बने। उनले बाकालाई हराउँदै उपाधिसहित ९५ हजार प्राप्त गरे।
महिला म्याचको विजेता आकृति बनिन्। उनले उपाधिसहित ७० हजार प्राप्त गरिन्। आकृतिले तनुलाई हराएकी हुन्। लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेता भइन् र ६० हजार प्राप्त गरिन्।
प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, पूर्वकानुनमन्त्री अग्नि खरेल, एमालेका नेता देवराज घिमिरे, सांसद एलपी साँवा, एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखे, सङ्घका महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।
असार १९, २०७९ आइतबार ०८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।