माओवादीको केन्द्रीय कमिटी बैठक आज, पदाधिकारी चयन गर्ने विषय कार्यसूचीमा

काठमाडौंः माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। आज बिहान ११ बजेबाट कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
गत पुषमा १८ गते सम्पन्न महाधिवेशनपछि १९ गते केन्द्रीय कमिटीको बैठक बसेको थियो। बैठकले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पार्टी अध्यक्ष चयन गरेको थियो। तर त्यसयता पटक पटक बैठक बस्ने भनिए पनि भागबण्डा नमिलेकै कारण बैठक बसेको थिएन। विशेषगरी पार्टीको महासचिव पदमा वर्षमान पुन र जनार्दन शर्माबीच कसलाई चयन गर्ने भन्ने ठूलो द्विविधा पार्टी नेतृत्त्वलाई थियो।
त्यसपछि पहिला पुष २५ र पछि माघ ८ गते केन्द्रीय कमिटी बैठक बस्ने भनिए पनि कोरोनाका कारण पछिलाई सारिएको थियो।
यस्तै आजको बैठकमा भने स्थानीय तहकाे निर्वाचनकाे समीक्षा, पदाधिकारी चयनबारे छलफल, आगामी प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफलसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
यसका साथै केन्द्रीय कमिटीकै पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी सदस्य चयन र कार्यविभाजन लगायतका पक्षमा पनि छलफल हुनेछ।
असार १९, २०७९ आइतबार ०७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।