काठमाडौँ-५ मा रन्जु उम्मेदवार हुने पक्का, खोजिन् सहयोगी

काठमाडौँ-५ मा रन्जु उम्मेदवार हुने पक्का, खोजिन् सहयोगी

काठमाडौँ  : काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार बनेर सम्मानजनक मत ल्याएकी रन्जु दर्शनलाले आफू संसदीय निर्वाचनमा काठमाडौँ ५ बाट उम्मेदवार बन्ने औपचारिक घोषणा गरेकी छिन्।

ट्वीटरमार्फत् उनले आधिकारिक रूपमा आफू क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्न लागेको उनले जनाएकी हुन्। विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापाको सो क्षेत्रमा नेपाल विवेकशील पार्टीकी अध्यक्ष कर्मा तामाङ समेत उम्मेदवार बन्न लागेकी छिन्। रन्जु स्वतन्त्र उम्मेदवार बन्न लागेकी हुन्।

‘सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा सबैले थाहा पाइसक्नुभएको छ। आज आधिकारिक रूपमा आउने सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु' उनले लेखेकी छिन्।

विवेकशील साझा पार्टीकी नेतृ रहेकी उनी रवीन्द्र मिश्र र मिलन पाण्डे समूहको विवादमा पार्टीको कारबाहीपछि स्वतन्त्र बस्ने गरेकी छिन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार बनेर सम्मानजनक मत पाएकी थिइन्।

क्षेत्र ५ विवेकशीलका संस्थापक उज्ज्वलको निर्वाचन क्षेत्र हो। यहाँ उनी उम्मेदवार बन्ने गरेका थिए। एमालेबाट ईश्वर पोखरेल उम्मेदवार बन्ने गरेका छन्। नेपाली कांग्रेसमा फिक्स देखिन्न। 

असार १९, २०७९ आइतबार ०६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।