अफ्रिकाका १२ देशमा मङ्कीपक्स सङ्क्रमण : सीडीसी

एजेन्सी : अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्कीपक्स सङ्क्रमण एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी)ले शुक्रबार जनाएको छ।
अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद ओगवेलका अनुसार अफ्रिकामा रिपोर्ट गरिएका एक हजार ७८२ विरामीमध्ये १०४ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको र उक हजार ६७८ शंकास्पद सङ्क्रमित रहेका छन्।
बेनिन, मोरक्को र दक्षिण अफ्रिका यस सङ्क्रमणको महामारी नदेखिएका मुलुक हुन् भने अन्य सदस्य राष्ट्रमा सङ्क्रमितको सङ्ख्या बढेको पाइएको छ।
'दुःखको कुरा, मङ्कीपक्सको प्रकोपले गर्दा यस महादेशमा ७३ जनाको मृत्यु भएको छ र मृत्यु दर ४.१ प्रतिशत पुगेको छ,' सीडीसीका कार्यकारी निर्देशकले बताए।
पहिले कुनै घटना नभएका देशहरू इथियोपिया, गिनी, लाइबेरिया, मोजाम्बिक, सिएरा लियोन, सुडान र युगान्डामा पनि सङ्क्रमित भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ।
असार १७, २०७९ शुक्रबार १९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।