बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी बालुवाटारबाट पक्राउ
काठमाडौँ : बैंकिङ कसूर मुद्दाका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने महोत्तरी लोहरपटी नगरपालिका–७ घर भएका २८ वर्षीय गौरभ शर्मा र काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैजू बस्ने धादिङ नेत्रवती डबजोङ् गाउँपालिका–५ घर भएका ३१ वर्षीय प्रेम बहादुर गुरुङ रहेका छन्।
उनीहरु दुबै जनालाई प्रहरीले आज (शुक्रबार) पक्राउ गरेको हो। बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना र गुरुङलाई २०७९ वैशाख ४ गतेको फैसलाले २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो।
उनीहरुले पर्याप्त मौज्दात रकम नभएको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेकोमा अदालतले उक्त फैसला गरेको थियो।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ।
असार १७, २०७९ शुक्रबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।