अर्थमन्त्री र गभर्नरको झगडा श्रीमान्-श्रीमतीको ठाकठुक जस्तै हो : पूर्व गभर्नर क्षेत्री

अर्थमन्त्री र गभर्नरको झगडा श्रीमान्-श्रीमतीको ठाकठुक जस्तै हो : पूर्व गभर्नर क्षेत्री

काठमाडौँ : पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कका गभर्नर बिचको मतभेद भनेको श्रीमान्-श्रीमतीविच हुने ठाकठुक जस्तै भएको बताएका छन्। पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबिच विवाद देखिइरहेको छ।

सोही प्रसङ्गमा उनले राजधानीमा आयोजित एक कार्यक्रममा उनले दुबैबिच जति विवाद देखिए पनि एक बिन्दुमा आएर मिलिहाल्ने तर्क गरे।

उनले नेपालको अर्थतन्त्रको अवस्थाबारे जे जस्ता चर्चा हुने गरेका छन् त्यो रूपमा कमजोर भई नसकेको तर बेलैमा नीतिगत सुधार नगर्ने हो भने श्रीलङ्काको बाटोमा जानबाट कसैले रोक्न नसक्ने उनको तर्क थियो। सेन्टर फर प्रोफेसनल मिडिया स्टडिजले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले नेपाल रेमिट्यान्सको भरमा पालिएकोमा नेपालमा रोजगारी नभएको भन्ने भनाई गलत रहेको बताए।

'नेपालमा रोजगारी छैन भनेर हाम्रो युवा जनशक्ति खाडीमा जान्छन्। यहाँ कामदार नपाएर भारतबाट ल्याउनुपर्छ,' उनले भने' भारत काम गर्न जाने नेपालीले वर्षमा एक अर्ब ल्याएको देखिन्छ। तर नेपाल आउने भारतीय श्रमिकहरूले वार्षिक सात अर्ब पैसा उता लैजान्छन्।'

उनले अहिलेको अवस्थामा पुरै विलासितापूर्ण जीवन बिताउने हो र खर्च गर्ने हो भने पनि सात महिना धान्ने दाबीहरू आउने गरेको भन्दै अहिले नेपालको आर्थिक अवस्था श्रीलङ्काको जस्तो खराब भई नसकेको तर व्यवहार र नीतिमा सुधार नगर्ने हो भने त्यो बाटोमा पुग्न बेर भने नलाग्ने बताए।

उनले नेपालको निर्यात बढाउन कृषिमा लगानी बढाउनु पर्नेमा सरकारले ध्यान दिन नसकेको भन्दै हालै सार्वजनिक भएको प्रदेशको बजेटमा सांसदले स्वविवेकमा खर्च गर्न पाउने निर्वाचन क्षेत्र विकास बजेट हटाएकोमा मुख्यमन्त्रीहरूले प्रशंसा गर्नुपर्ने बताएका थिए।

लडाकुले बजेट ल्याएको भनेर आलोचना गरिए पनि उनले ल्याएको बजेट अर्थशास्त्री अर्थमन्त्रीले ल्याएको बजेट भन्दा कम नभएको भन्दै अहिलेको बजेटमा राम्रा पक्षहरू धेरै भएको तर मुख्य चुनौती कार्यान्वयनको पक्ष भएको बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले नेपाललाई आत्मनिर्भर बनाउन सकिने क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। उनले नेपालमा फुटवेयर र सूचना प्रविधिको क्षेत्रमा राम्रो काम गर्ने सम्भावना देखिएको बताए।

अहिलेको अवस्थामा नेपालको अर्थतन्त्रलाई करेक्सनको लाइनमा लैजान सकिने धेरै सम्भावनाहरू रहेको भन्दै उनले भने' कुनै समयमा नेपालमा कति नै मासु उत्पादन हुन्थ्यो र। अनि खपत पनि कति नै हुन्थ्यो र। तर अहिले वार्षिक ६ लाख मेट्रिक टन मासु उत्पादन हुन्छ। अनि खपत पनि हुन्छ।'

बैङ्क तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले नेपालमा आत्मनिर्भर हुनसक्ने क्षेत्रहरूमा लगानी नै हुन नसकेको बताए। उनले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिनुपर्नेमा त्यसो हुन नसकेको बताए। सरकारी नीतिका कमजोरीहरूका कारण निर्यात भन्दा आयात बढिरहेको भन्दै उनले भने' सिमेन्ट उद्योग बढ्यो भन्छन्। तर यो बढ्नुमा राज्यले ३५ प्रतिशत सब्सिडी दिएको हेर्दैनन्।'

उनले राज्यले अनावश्यक क्षेत्रमा अनुदान दिएर राज्य स्रोतको दुरुपयोग भइरहेको बताए। अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा सुरेन्द्र उप्रेतीले सरकारले प्रत्यक्ष लाभान्वित हुनसक्ने समूहसँग जोडिने संयन्त्रबाट बजेट खर्च गर्ने नीति अनुसार यस पटक स्थानीय सरकार र प्रदेशको बजेट बढाएको र आत्मनिर्भर हुन कृषि लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताए।

वरिष्ठ पत्रकार किशोर नेपाल, अर्थशास्त्री डा गोविन्द नेपाल, पाटन क्याम्पस अर्थशास्त्र विभाग प्रमुख रघुवीर विष्ट लगायतकाले नेपालको अर्थतन्त्रको अवस्थाबारे आफ्ना धारणा राखेका थिए।

असार १७, २०७९ शुक्रबार १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।