रेल्वे र औषधि विधेयक राष्ट्रिय सभाबाट पारित

रेल्वे र औषधि विधेयक राष्ट्रिय सभाबाट पारित
फाइल तस्बिर

काठमाडौंः राष्ट्रिय सभाबाट ‘रेल्वे विधेयक, २०७९’, ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरिएको छ। राष्ट्रिय सभाको आजको बैठकले यी विधेयक पारित गरेको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको रेल्वे विधेयक सर्वसम्मतले पारित भएको हो। विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए।

अर्का संशोधनकर्ता सांसद डा विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजनिक यातायात व्यवस्थापन विषय पढेका, जानेका वा अनुभव लिएका दुई जना स्वतन्त्र विज्ञ राख्नुपर्ने बताइन्।

रेल्वे विधेयकमा नौ सांसदबाट प्रस्तावना र १६ दफासँग सम्बन्धित संयुक्त संशोधन प्रस्तावसहित २३ संशोधन प्रस्ताव दर्ता भएका थिए।

यस्तै आजैको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेको ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पनि सर्वसम्मतिले पारित गरिएको छ।

मन्त्री खापुङले स्वास्थ्य संस्थामाथि हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने हातपातको घटना रोक्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक संशोधन गरिएको बताए।

राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते सोमबार अपराह्न १ बजे बस्नेछ।

असार १७, २०७९ शुक्रबार १४:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।