प्रचण्ड र राजेश हमालबीचको भेटमा के भयो कुरा ?

प्रचण्ड र राजेश हमालबीचको भेटमा के भयो कुरा ?

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा आज भएको भेटमा दुई जनाबीच नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको बताइएको छ।

भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाका अनुसार उनीहरूबीच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा छलफल भएको थियो।

प्रचण्डले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन राज्यका तर्फबाट जे–जति भूमिका निर्वाह हुनुपर्ने हो, त्यसो हुन नसकेकाले मिलेर काम गर्नुपर्ने बताएका थिए। यस्तै उनले नेपाली चलचित्र क्षेत्रलाई लामो समयसम्म डोहोर्याएर समृद्ध बनाउन अभिनेता हमालले निर्वाह गरेको भूमिकाको समेत प्रशंसा गरेका थिए।

यस्तै हमालले कलाकारहरू खुलेर राजनीतिमा आउने परिपाटीको विकास प्रचण्डको पालामा नै भएको बताउँदै कलाकारलाई राम्रो व्यवहार गर्ने परिपाटीको सुरुआत भएकोमा खुशी व्यक्त गरेका थिए।

भेटमा देशको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत सामान्य चर्चा भएको बताइएको थियो।

तर, राजेश हमाल पछिल्लो समय माओवादी पार्टी प्रवेश गर्ने र संसदीय निर्वाचनमा उम्मेदवार बन्ने 'राजनीतिक गशिप' भने चलिरहेको छ। हल्ला चलेकै बेला हमालले प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ।

असार १७, २०७९ शुक्रबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।