अख्तियारको निरीक्षक बनेर सीमानाकामा पैसा असुलेपछि...

महोत्तरीः आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी निरीक्षक बताउँदै सीमानाकाबाट पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग पैसा असुल्ने उनीहरूलाई बिहीबार साँझ पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्।
प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकाबाट प्रहरी चौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो।
उनीहरूको साथबाट पाँच हजार ८०० भारु बरामद भएको छ। तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
असार १७, २०७९ शुक्रबार ०९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।