गोप्यरूपमा अन्त्येष्टि गर्न लागिएको बालिकाको शवसहित तीन जना पक्राउ

पर्साः गोप्यरूपमा अन्त्येष्टि गर्न लागेको बालिकाको शवसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन्।
उनीहरूलाई बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो। बुधबार बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण मृत्यु भएको थियो। उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्यरूपमा अन्त्येष्टि गर्न लागेको अवस्थामा प्रहरीले उनीहरूलाई मसानघाटबाट शवसहित पक्राउ गरेको हो।
उनीहरूमाथि कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय पोखरियाको टोली मसानघाटमा पुग्दा शव बेवारिसे छोडेर तीनै जना फरार भएका थिए।
प्रहरीले जल्दै गरेको शव बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
असार १७, २०७९ शुक्रबार ०८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।