'रचनात्मक विद्रोह'को चेतावनी दिएका कोइराला पक्षका नेताहरूको छुट्टै भेला आज पनि

काठमाडौंः नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरूको छुट्टै बैठक आज पनि बस्दैछ। बिहीबार समेत बसेको यस समूहको बैठकले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालेको थियो।
बैठक आज दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ।
पार्टीको गतिविधि र सरकारका काम-कारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै कोइरालाले संस्थापन इतरका नेताहरूको छुट्टै भेला गरेका हुन्।
देउवाले एकलौटी हिसाबले पार्टी चलाएको, पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेको, स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुशी नियुक्ति गरेको भन्दै हिजोको बैठकले 'रचनात्मक विद्रोह' गर्नुपर्ने विषय पनि उठान गरेको थियो।
कांग्रेसले गत मङ्सिरमै १४औं महाधिवेशन सम्पन्न गरे पनि त्यसपछि गठन गर्नुपर्ने विभाग र समितिहरूले पूर्णता पाएका छैनन्।
विधानअनुसार ६ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि कोइराला पक्षले आलोचना गर्दै आएको छ।
यस्तै बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारीबारे पनि छलफल हुने बताइएको छ।
असार १७, २०७९ शुक्रबार ०७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।