कांग्रेसको प्रतिवेदनः मतमा एमालेभन्दा अगाडी, अधिनायकवादलाई परास्त गर्न संसदीय निर्वाचनमा जित अपरिहार्य 

कांग्रेसको प्रतिवेदनः मतमा एमालेभन्दा अगाडी, अधिनायकवादलाई परास्त गर्न संसदीय निर्वाचनमा जित अपरिहार्य 

काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा ३८ लाख ३८ हजार १३८ मत पाएको जनाएको छ। कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल एमालेले पाएको भन्दा १ लाख ७५ हजार ७६ मत बढी रहेको प्रतिवेदनमा उल्लेख छ।  

७५२ मध्ये १८८ अध्यक्ष, १४१ प्रमुख ३२९ कार्यकारी पदमा जित हात पारेको प्रतिवेदनमा उल्लेख छ। यो करिब ४४ प्रतिशत हुन आउँछ। १९० उपाध्यक्ष र ११० उपप्रमुख गरी ३०० पदमा जितेको प्रतिवेदनमा उल्लेख छ। यो कुल स्थानको ४० प्रतिशत हुन आउँछ। ४२ प्रतिशत कार्यकारी पदमा जितेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा कांग्रेस गठबन्धनबिना एक्लै निर्वाचनमा जाँदा पनि कमजोर नदेखिएको उल्लेख छ। 

प्रतिगामी तथा अधिनायकवादी प्रवृत्ति र संस्कृतिलाई परास्त गर्न आगामी संसदीय निर्वाचनमा पार्टीले जित्नु अपरिहार्य रहेको निष्कर्ष छ। प्रतिवेदनमा कांग्रेसको अपरिहार्य जितका लागि आगामी संघीय र प्रादेशिक निर्वाचनसम्म पाँच दलीय गठबन्धनलाई प्रभावकारी रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ। गठबन्धनमा कांग्रेसको बार्गेनिङ शक्ति बढाउन हरेक जिल्ला र चुनाव क्षेत्रका चुनावसँग सम्बन्धित तथ्य तथ्यांकहरु समयमै संकलन गर्नु पर्ने, गठबन्धन दलहरुबीच तालमेल गर्दा दलहरूले पाउने उम्मेदवारीको संख्या निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा पहिले नै टुंगो लगाउनु पर्ने पनि सुझाव प्रतिवेदनमा उल्लेख छ।  

निर्वाचन घोषणा पत्र तयार गर्दा नयाँ पुस्ताका मतदातालाई आकर्षित गर्ने खालका कार्यक्रमहरू समावेश गर्नु पर्ने समितिको प्रतिवेदनमा उल्लेख छ। ‘प्रचार सामग्रीलाई आधुनिक सूचना प्रविधिको अत्यधिक प्रयोग गरी विषयवस्तुको प्रभावकारी प्रस्तुतिका साथ बढीभन्दा बढी जनसमुदायमा पुर्याउन अधिकतम प्रयास गर्ने,’ प्रतिवेदनमा भनिएको छ, ‘विशेष गरेर सहरी क्षेत्रमा स्वतन्त्र र युवाहरूबाट सिर्जना भएका चुनौतीहरूलाई मध्यनजर गर्दै आगामी चुनावका लागि विशेष रणनीति बनाउनु पर्ने।’ उम्मेदवारको चयन गर्दा जनतासँग प्रत्यक्ष रूपमा भिजेका लोकप्रिय, स्वच्छ छवि भएको, क्षमतावान् र जनताको काममा निरन्तर खटेका व्यक्तिलाई चयन गर्दा निर्वाचन जित्न सहज हुने प्रतिवेदनमा उल्लेख छ।  

असार १६, २०७९ बिहीबार १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।