चेक बाउन्स मुद्दाका फरार प्रतिवादी टेकुबाट पक्राउ
काठमाडौँ : बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। सीआईबीले रामेछापको खाँडादेवी गाउँपालिका–५ स्थायी घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४२ वर्षीया विष्णुमाया योञ्जनलाई पक्राउ गरेको हो।
सीआईबीको टोलीले योञ्जनलाई काठमाडौंको टेकुबाट पक्राउ गरेको हो। उच्च अदालत पाटनले उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र ७ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
जानी–जानी आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै योञ्जनले २०७७ साल फागुन १३ गते पीडितलाई रकम भुक्तानी गर्नका लागि एनएमबी बैंक लिमिटेडको चेक काटेका थिए।
योञ्जनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यूरोले जनाएको छ।
असार १६, २०७९ बिहीबार १५:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।