चितवनका ५० हजार परिवार बाढीको जोखिममा

काठमाडौं : बाढी-पहिरोबाट चितवनका ५० हजार ५ सय घर-परिवार जोखिममा परेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो तथ्याङ्क सार्वजनिक गरेको हो।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक वर्षातका कारण प्रभावित बन्ने छन्।
बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ। भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उनले जानकारी दिए।
यस्तै माडी नगरपालिकाका चार हजार ५ सय परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ।
यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
बाढी र पहिरोको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गरेका छन्।
असार १६, २०७९ बिहीबार ०९:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।