संसद् दिवसका अवसरमा सभामुखको शुभकामना

संसद् दिवसका अवसरमा सभामुखको शुभकामना

काठमाडौं : आज असार १६ गते। नेपालमा हरेक वर्ष आजको दिन संसद् दिवस मनाउने गरिन्छ। २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा असार १६ गते संसद् दिवस मनाउन थालिएको हो।

संसद् दिवस २०७९को अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले शुभकामना व्यक्त गरेका छन्। उनले लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलन र जन-संघर्षमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन्।

'संविधानमा उल्लेखित लोकतान्त्रिक अधिकारको उच्चतम प्रयोग र जनताको आवाज मुखरित गर्ने सर्वोच्च थलो संसद् हो', सभामुखले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, 'संसद् दिवसका अवसरमा संविधान निर्माणपछिको पहिलो संसद्ले भोग्नु परेका विविध आरोह-अवरोह, नयाँ संविधान जारी भएपछिको संघीय संसद्सँगका जनअपेक्षा र हाम्रा कामहरुको समीक्षा गर्ने बेला आएको छ।'

दुई-दुई पटकको विघटन, कोभिड संकटलगायत विविध समस्याहरुका बीचबाट पनि संसद्ले आफ्ना कार्यहरु निरन्तर अगाडि बढाइरहेको सभामुखले बताएका छन्। संघीय संसद्‌मा विचाराधीन नागरिकता लगायतका महत्त्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनुपर्ने अभिभारा रहेको उनको भनाइ छ।

असार १६, २०७९ बिहीबार ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।