एमालेभित्र माओवादीको बिउ रोपेका छौं, केही समयपछि फुल्छ/फल्छ : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्र माओवादीको बिउ रोपिएको र केही समयपछि त्यो बिउ फुल्ने/फल्ने बताएका छन्।
उनले एमाले भित्रको नेतृत्व प्रतिगमनकारी रहे पनि त्यहाँका कार्यकर्तालाई समाजवादको यात्रामा डोहोर्याउन सकिने दावी समेत गरे।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका नेताहरू ओम पुन र शंकर खड्का लगायतलाई आज माओवादीमा प्रवेश गराउँदै पेरिसडाँडामा प्रचण्डले भने, 'अब हामी देशका सच्चा कम्युनिष्टलाई एकीकृत र केन्द्रीकृत गरेर लैजाने छौं।'
उनले थपे, ‘माओवादीमात्रै मिलेर हुन्छ भन्ने भ्रममा नपरौं। माओवादी बाहिर रहेका सच्चा कम्युनिष्टहरूलाई पनि समेट्नुपर्छ। उनीहरू अवसरवादी छैनन्।’
प्रचण्डले विभाजित भई विभिन्न पार्टीमा लागेका माओवादीहरू पहिले एक हुनुपर्ने र बलियो शक्तिका रूपमा देखा परेपछि माओवादी भन्दा बाहिर रहेका कम्युनिष्टलाई पनि एकै ठाउँमा ल्याइने बताए।
उनले विप्लव, मोहन वैद्य, धर्मेन्द्र बास्तोलालगायत सबैलाई माओवादीमा आउन पनि आग्रह गरेका थिए।
‘साथीहरू एकपटक गम्भीर आत्मसमीक्षा गरौं। सबैले आफ्नो कमजोरी स्वीकार्ने आँट गरौं र एकठाउँमा ल्याऔं,’ उनले भने, ‘माओवादी पहिले एकठाउँमा हुनुपर्दछ भन्ने भावनालाई सम्मान गर्नुपर्छ।’
असार १५, २०७९ बुधबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।