पद्मश्री पुरस्कारका लागि १५ पुस्तकको सूची सार्वजनिक

काठमाडौं- खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री पुरस्कार २०७८ का लागि १५ पुस्तकको सूची सार्वजनिक भएको छ।
१५ पुस्तकको सूची सार्वजनिक गर्दै प्रतिष्ठानले २०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानमा १४४ पुस्तक प्राप्त भएका बताएको छ।
प्रतिष्ठानले सार्वजनिक गरेको १४ पुस्तकको सूचीमा नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, दीननाथ शर्माको एक सम्बोधन समयमाथि, राजवको काफ्काको काम सकियो, कविता राईको गुरु, लोकराज भट्टको छाइल रहेका छन्।
यस्तै, दिलिप बान्तवाको ताल्चा, अलका आत्रेयको निनाद वल्लरी, राजेन्द्रमान डंगोलको पैतालामा हिउँ, आँखमा हिमाल, उषा हमालको मिक्षुसँग प्रेम, विप्लव ढकालको भोजपुरको वाङमय, बसन्त बस्नेतको महाभारा, दीपक पराजुलीको मिथ्या, केवल बिनाबीको यादहरूको सङ्ग्राहलय र गिरिश गिरीको सत्यमोहन रहेका छन्।
खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।
राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो।
चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त भएका पुस्तकहरूमध्येबाट पन्ध्र पुस्तकलाई उत्कृष्ट विस्तारित सूची सार्वजनिक गर्ने, दोस्रो चरणमा विस्तारित सूचीमध्येबाट उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन्।
असार १५, २०७९ बुधबार ०९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।