पहिरोले मध्यपहाडी लोकमार्ग, बागलुङ-म्याग्दी, आँबुखैरेनी-मुग्लिन र डुम्रे-बेसीसहर सडक अवरुद्ध

काठमाडौं : अविरल वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन्। मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्ण रूपमा अवरुद्ध बनाएको छ।
लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वर्षाका कारण गलकोट नगरपालिका–१, दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ।
यस्तै बागलुङबाट म्याग्दी जिल्ला जोड्ने मुख्य सडक समेत पहिरोले अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–४ र म्याग्दीको बेनी नगरपालिका–१ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ। निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ।
आँबुखैरेनी-मुग्लिन खण्ड अवरुद्ध
मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो।
पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको छ।
डुम्रे-बेसीसहर सडक अवरुद्ध
अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ। यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
वैकल्पिक रूपमा रहेको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडकमा माथिबाट दुईवटा ठूला–ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। त्यहाँ एक्साभेक्टर लगेर ढुङ्गा फुटाएर मात्र सवारीसाधन सञ्चालनमा आउने बताइएको छ।
असार १५, २०७९ बुधबार ०९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।