भारतले आयरल्यान्डलाई चार रनले हरायो, सिरिज क्लिनस्विप

काठमाडौं : स्टार अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतीय टोलीले टी-२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा आयरल्यान्डलाई चार रनले हराएको छ। दुई खेलको सिरिज भारतले क्लिनस्विप गरेको छ।
जितका लागि २ सय २६ रनको लक्ष्य पछ्याएको घरेलु टोली आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन मात्र बनाएको थियो।
आयरल्यान्डका लागि कप्तान एन्ड्री बलबर्नीले ६० रनको अर्धशतकीय पारी खेले। यस्तै पउल स्टर्लिङ ४० र ह्यारी टेक्टर ३९ रनमा आउट भए। जर्ज डोकरेल ३४ तथा मार्क आदिर २३ रनमा अविजित रहे।
भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले समान एक-एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो।
भारतका लागि दीपक हुडाले सतकीय इनिङ्स खेले। टी–२० मा सुरेश रैना, रोहित शर्मा र लोकेश राहुलपछि शतक प्रहार गर्ने हुडा भारतका चौथो खेलाडी हुन्। उनले ५७ बलमा ६ छक्का र ९ चौकासहित १०४ रन बनाए।
यस्तै सञ्जु स्यामसन ७७ रन बनाउँदा सूर्यकुमार यादवले १५ रन जोड्दा हार्दिक पाण्ड्या १३ रनमा अविजित रहेका थिए।
आयरल्यान्डका लागि मार्क आदिरले ३ तथा जोश लिटिल र क्रेग याङ्गले समान २-२ विकेट लिए।
असार १५, २०७९ बुधबार ०७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।