मेयर कप तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका प्रथम

काठमाडौं : चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौँको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ। चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो।
प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ। गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको हो।
यस्तै २३ पदकसहित भरतपुर महानगरपालिका तेस्रो भएको छ। भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको छ।
प्रतियोगितामा चितवनकै माडी नगरपालिकाले सान्त्वना पुरस्कार हासिल गरेको छ। माडीले दुई स्वर्ण, चार रजत र दुई कास्य प्राप्त गरेको थियो।
प्रतियोगितामा महिलातर्फ पर्वतको पैयुँ गाउँपालिकाकी प्रतिका थापा र पुरुषतर्फ काठमाडौँको चन्द्रागिरिका सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा सात वटै प्रदेशका करिब ३०० खेलाडी सहभागी थिए।
असार १५, २०७९ बुधबार ०७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।