बामदेवले पार्टी खोल्दा एमालेको सांसद सङ्ख्या घट्यो

काठमाडौँ : बामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गरेसँगै एमालेले २ सांसद गुमाएको छ। गौतमले आफ्नै नेतृत्वमा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेर एमाले सांसद तथा श्रीमती तुलसा थापालाई दोस्रो वरियतामा राखेका छन्।
थापा एमाले सांसद हुन्। पार्टी दर्तामा गएसँगै थापाको सांसद पद स्वतः खारेज हुनेछ। गौतम एमालेको सिफारिसमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। उनलाई राष्ट्रपतिले मनोनीत गरेकाले उनको पद भने जोगिने छ।
नेकपा एकतामा खटपट हुँदा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिएका गौतम सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि भने स्वतन्त्रझैँ बसेका थिए। पछि उनले एमालेको सबै पद र सदस्यता समेत नरहने गरी राजीनामा दिए।
यता माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरे पनि जनताको बहुदलीय जनवाद छाडेको भनेर उनी यता आएनन्। उनले जबजलाई मार्ग दर्शक सिद्धान्त स्वीकार गरे एकीकृत समाजवादीमा आउन सक्ने सर्त राखे पनि स्वीकार नभएपछि स्वतन्त्र झैँ बसे।
उनले मङ्गलवार पार्टी घोषणा गरे पनि प्रभावशाली नेताहरू देखिएनन् उनको कमिटीमा। उनले श्रीमतीसँगै छोरालाई समेत केन्द्रीय सदस्य राखेका छन्। एकै परिवारको तीन जना केन्द्रीय समितिमा भएकोबारे जिज्ञासा राख्दा उनले आफ्नो परिवारका सबै राजनीतिमा योगदान दिएका व्यक्ति भन्ने दाबी गरे। जबकि उनको छोरा कुनै राजनीतिक गतिविधिमा संलग्न देखिएका थिएनन्।
२०५४ ताका पनि गौतमले एमाले विभाजन गरेर नेकपा माले गठन गरे पनि निर्वाचनमा एक सिट पनि नआएपछि उनी समर्थकसहित एमालेमै फर्किएका थिए। तर सिपी मैनाली फर्किएनन्। मैनाली अहिले पनि मालेको महासचिवको रूपमा प्रभावहीन पार्टीको नेतृत्व गरिरहेका छन्। बामदेवले घोषणा गरेको केन्द्रीय समितिका नेता हेर्दा उनी पनि सिपीकै बाटोमा हिँडेको देखिन्छ।
असार १५, २०७९ बुधबार ००:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।