गायिका दिलमायाको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा हत्या देखिएन

काठमाडौँ : लोकदोहोरी गायिका दिलमाया सुनारको पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनले उनको मृत्युको कारण हत्या नभएको सङ्केत गरेको छ। उनको शवको पोस्टमार्टम सकिए पनि लिखित प्रतिवेदन भने तयार भइसकेको छैन।
तर पोस्टमार्टममा संलग्न चिकित्सक टोलीबाट प्रहरीलाई आएको प्रारम्भिक रिपोर्टमा हत्याको कारण घाँटी थिचेर भएको नदेखिएको आएको जानकार स्रोतले उकेरालाई बतायो।
उनको मृत्युको कारण झुन्डिनु देखिएको स्रोतले बतायो। थप जानकारीका लागि अब भिसेरा परीक्षण समेत गर्ने तयारी गरिए पनि यसको प्रतिवेदन आउन भने समय लाग्नेछ।
उनको शव कोठाको घाटमा लडिरहेको अवस्थामा फेला परेको र उनको मोबाइल समेत हराएकाले प्रहरीले हत्या भएको हुनसक्ने शङ्का गरेको थियो। सोही आधारमा घटनाको दिन उनको कोठामा रहेका सूर्य श्रेष्ठलाई पक्राउ गरेर हिरासतमा राखिरहेको छ। उनी विरुद्ध सुनारको परिवारले हत्याको किटानी जाहेरी समेत दिएका छन्।
तर पोस्टमार्टमको विस्तृत रिपोर्टमा मृत्युको कारण आत्महत्या देखिने प्रतिवेदन आएमा भने श्रेष्ठमाथिको शङ्का कम हुनेछ। उनले आत्महत्यामा प्रयोग भएको सल समेत फालेकाले पनि उनी शङ्काको घेरामा परेका थिए। सुनारको मोबाइल हराएकाले फेसबुकमा उनले लेखेको सुसाइड नोट समेत शंकामा परेको थियो।
असार १४, २०७९ मंगलबार २२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।