सगरमाथा आरोही  भुसालले भनिन्' शिविर नम्बर ४ मा अत्यधिक प्रदूषण छ

सगरमाथा आरोही  भुसालले भनिन्' शिविर नम्बर ४ मा अत्यधिक प्रदूषण छ

काठमाडौँ : सगरमाथा आरोही डाक्टर प्रीति भुसालले सगरमाथाको चौथो आधार शिविरमा प्रदूषण बढ्दै गएको बताएकी छिन्। पत्रकार सम्मेलनमार्फत उनले शिविर नम्बर ४ मा प्रदूषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको बताएकी हुन्।

१, २, ३ नम्बर शिविर भने तुलनात्मक रूपमा सफा रहेको उनले बताइन्। नेपालको पहिलो महिला चिकित्सकको रूपमा उनले भुसालले वैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्क्ति रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको उनको भनाइ थियो।

प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु आफ्नो आरोहणको दोस्रो लक्ष्य रहेको उनले बताइन्।

‘हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोकौँ भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा समेत मैले सगरमाथा आरोहण गरेको हुँ’ उनले पत्रकार सम्मेलनमा भनिन्।

बाल्यकालदेखि नै डाँडाकाँडा उक्लने, पौडी खेल्ने लगायतमा संलग्न भएकाले र पछिल्लो पटक फ्रान्स, स्विजरल्याण्ड लगायतका देशमा सुन्दर हिमालहरू देखेपछि आफ्नै देशका हिमालहरू चढ्ने प्रण गरेको उनले बताइन्।

सगरमाथा आरोहणको क्रममा भुसालको साथमा व्यक्तिगत पथप्रदर्शक (गाइड) को रूपमा फुर्बा थिले शेर्पा र पासाङ गेलु शेर्पा रहेका थिए। उनको आरोहण अभियानको नेतृत्व चर्चित पर्वतारोही पेम्बा दोर्जी शेर्पाले गरेका थिए।

सगरमाथा आरोहणका लागि कुनै पनि व्यक्ति शारीरिक तथा मानसिक रूपमा सबल हुनुपर्ने र त्यसअघि ६ हजार मिटर भन्दा अग्ला केही शिखरहरू चढेको अनुभव हुनुपर्ने उनले बताइन् । हाल स्वदेशी पर्वतारोहीको हकमा सगरमाथा आरोहण गर्न ३५ देखि ४० लाख रुपैयाँ खर्च लाग्ने उनले जानकारी दिइन्। 

असार १४, २०७९ मंगलबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।