नवलपुर–२ मा विनोद चौधरीलाई युवा नेता शंकरको चुनौती

नवलपुर–२ मा विनोद चौधरीलाई युवा नेता शंकरको चुनौती

काठमाडौँ : नवलपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फबाट उम्मेदवार बन्ने घोषणा गरेका उद्योगपति विनोद चौधरीलाई नेपाली कांग्रेसका युवा नेता शङ्कर तिवारीले चुनौती दिएका छन्। केही दिन अगाडि मात्रै चौधरीले केही पत्रकारहरूलाई भिभान्तामा बोलाएर आफू प्रत्यक्ष राजनीतिमा संलग्न हुने र समानुपातिकबाट सांसद नहुने घोषणा गरेका थिए।

त्यस लगत्तै उनले नवलपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने सार्वजनिक गरेका थिए। कांग्रेसका युवा नेता तिवारीले मङ्गलवार सामाजिक सञ्जालमा लेख्दै नवलपुर २ बाट सांसदको उम्मेदवार बन्न आफ्नो समेत दाबी रहेको लेखेका छन्।

उनले स्थानीय निर्वाचनले अभूतपूर्व राजनीतिक परिवर्तनको सन्देश दिएको बताउँदै राष्ट्रिय राजनीति र नवलपुरको राजनीतिक सरगर्मी समेत ह्वात्तै बढेको उल्लेख गरेका छन्।

गत निर्वाचनमा नवलपुर २ मा कांग्रेस तर्फबाट उपविजेता बनेका विष्णु कार्कीको स्थानीय रूपमा लोकप्रियता निर्विवाद रहेको भन्दै उनले व्यवसायी विनोद चौधरीले पनि आफ्नो प्रत्यक्ष तर्फको आकाङ्क्षा नवलपुर २ मा रहेको घोषणा गरेको लेखेका छन्।

प्रत्यक्षबाट सांसद हुन विनोद चौधरीको नजर नवलपुर–२ मा

पत्रकारलाई भिभान्तामा डिनर खुवाउँदै विनोद चौधरीले गरे प्रत्यक्षमा चुनाव लड्ने घोषणा

'यो सबैको बाबजुद परम्परागत राजनीतिमा बदलाव खोजिरहेका , युवा पुस्ता र पहिलो पटक भोट हाल्ने मतदाता माझ अर्कै लहर पनि चलिरहेको छ। उनीहरूले राजनीतिमा पुस्तान्तरण खोजिरहेका छन्। म सँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संवादमा आउनु भएका बुङदी काली , कावासोती, मध्यबिन्दु, हुपसेकोट हुँदै विनयी त्रिवेणी सम्मका नेता गण देखि मतदाता सम्मको सल्लाह, आशीर्वाद, आग्रह, शुभकामना मुताबिक नेपाली कांग्रेस पार्टीका तरफ बाट नवलपुर २ बाट मेरो पनि उम्मेदवारीमा दावा रहने सहर्ष जानकारी गराउँदछु' उनले लेखेका छन्।

गान्धीवादी चिन्तक छवी बनाएका तिवारी कांग्रेसको १४ औ निर्वाचनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए।

असार १४, २०७९ मंगलबार १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।