अवैध रूपमा अमेरिका हिँडेका ४६ जनाको शव ट्रकभित्र

अवैध रूपमा अमेरिका हिँडेका ४६ जनाको शव ट्रकभित्र

एजेन्सी: अमेरिकाको टेक्सस राज्यमा एक ट्रकमा ४६ वटा शव फेला परेको छ। ट्रकमा भेटिएका अन्य १६ जनालाई अस्पतालमा भर्ना गरिएको छ। अस्पताल पुर्याइएकामा चार जना बालबालिका रहेका छन्। 

ट्रक टेक्ससको बाहिरी क्षेत्रमा रहेको सैन एन्टोनियामा फेला परेको थियो। जब ट्रकभित्र मान्छेहरू छन् भन्ने खुल्यो त्यो बेला हेर्दा बाँचेकाहरू गर्मीले रापिएका थिए र उनीहरूलाई हिट स्ट्रोक भएको थियो। 

सैन्ट एन्टोनियन अमेरिका र मेक्सिकोको सीमाभन्दा करिब २ सय ५० किलोमिटर पर रहेको इलाका हो। अवैध रूपमा अमेरिका प्रवेश गर्न चाहनेहरूलाई मानव तस्करहरूले यही बाटोको प्रयोग गरेर अमेरिका प्रवेश गराउने गरेको छ। मानव तस्करीमा संलग्नहरूले अधिकांश यस्तै ट्रकको प्रयोग गर्ने गरेकाले ट्रकमा फेला परेकाहरूलाई पनि मानव तस्करले ट्रकमा राखेर अमेरिका ल्याएको र मृत्यु हुन थालेपछि भागेको आशङ्का गरिएको छ।

सैन एन्टोनियोका मेयर रान निरेनबर्गले यसलाई भयावह मानवीय त्रासदीको घटना भएको बताउँदै भने' उनीहरूको पनि परिवार थियो। उनीहरू राम्रो जीवनको खोजीमा अमेरिका आइरहेका थिए।'

अवैध रूपमा अमेरिका ल्याइएकाहरू राखिएको ट्रकमा राखिएको एयर कन्डिसन बिग्रिएपछि ट्रक चालक भागेको शङ्का गरिएको थियो। अहिले सो क्षेत्रमा ३९ सेल्सियस तापक्रम छ। ट्रकभित्र पिउने पानी समेत थिएन।

लावारिस अवस्थामा रहेको ट्रक फेला परेको सूचनापछि दमकल विभागको कर्मचारीहरू घटनास्थलमा गएका थिए। उनीहरूले ट्रक खोलेर त्यहाँ रहेका व्यक्तिहरूको उद्धार गर्न सुरु गर्दा अधिकांशहरूको मृत्यु भइसकेको थियो। जो बाँचेका थिए उनीहरूको अवस्था पनि निकै नाजुक थियो। ट्रकमा फेला परेकामध्ये २ जना ग्वाटेमालाका नागरिक रहेको पुष्टि भएको छ।

असार १४, २०७९ मंगलबार १४:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।