प्रेम आले र किसान श्रेष्ठ अझै गएनन् समाजवादीको बैठकमा

काठमाडौंः सोमबारदेखि जारी एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठकमा मन्त्री पद खोसिएका नेताहरू प्रेम आले र कृष्णकुमार श्रेष्ठ (किसान) मंगलबार पनि उपस्थित छैनन्। मन्त्री पद खोसिएकी रामकुमारी झाँक्री सोमबारै बिहान ढिला गरी पुगेकी थिइन् भने विरोध खतिवडा साँझ मात्र बैठकमा पुगेका थिए।
उकेराले यसबारे जानकारी लिन आले र श्रेष्ठ दुवैलाई सम्पर्क गरेको थियो। तर आलेको फोनमा सम्पर्क हुन सकेन भने श्रेष्ठले आफू पारिवारिक वैवाहिक समारोहमा हाल तनहुँमा भएको जानकारी दिए। संसद् बैठक पनि नभएकाले आफू तनहुँ गएको र केन्द्रीय परिषद् बैठकमा नगएको उनले स्पष्ट पारे।
'एमाले जानेबारेमा कुनै सोच छैन। भोलि पार्टी नै एकता भएछ भने छुट्टै कुरा। असन्तुष्टि, चित्त नबुझ्ने भन्ने पनि केही छैन', उनले भने।
यस्तै नवनियुक्त मन्त्रीमा भने स्वास्थमन्त्री भवानी खापुङ मात्र उपस्थित छन्। 'आउँदै हुनुहुन्छ होला, बैठक चल्दैछ। ४ बजे प्रेस मिट पनि छ। हेरौं', पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने।
अध्यक्ष माधवकुमार नेपालले पेश गरेको सांगठनिक र राजनीतिक प्रतिवेदनमा ११ ओटा समूहले सुझाव पेश गर्दैछ्न।
असार १४, २०७९ मंगलबार १३:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।