पोखरामा असार १५ गते रोपाइँ महोत्सव हुने, १० हजार जना सहभागी हुने अनुमान

पोखरामा असार १५ गते रोपाइँ महोत्सव हुने, १० हजार जना सहभागी हुने अनुमान

पोखराः यही असार १५ गते धान दिवसका दिन पोखरामा रोपाइँ महोत्सव हुने भएको छ। पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा- २५ हेम्जास्थित टमाइ फाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुने भएको हो।

आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले १७औं असारे महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित विदिशी पर्यटकहरूलाई नेपाल सबै सिजनमा भ्रमण गर्न उपयुक्त भएको सन्देश दिन पनि महोत्सव मनाउन लागिएको अध्यक्ष भट्टराईले बताए।

नेपालमा वर्षौँदेखि चलिआएको रोपाइँ गर्दै हिलो खेल्ने परम्परागत संस्कृतिको जगेर्नासँगै शहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा उत्साहित गर्न पनि महोत्सव फलदायी हुने भट्टराईले बताए।

खेतीयोग्य जमीनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको उनको भनाइ छ। भट्टराईले रोपाइँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए।

हेम्जाका तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, कृष्णबहादुर कुँवर, मैना केसी र प्रकाश पौडेलको खेतमा परिषद्ले रोपाइँ महोत्सव गर्न लागेको हो।

महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रमहरू हुने महोत्सवका संयोजक तथा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

उनका अनुसार महोत्सवमा प्रथम हुनेलाई ७ हजार, दोस्रोलाइ ५ हजार रुपैयाँ पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ।

पाँच सय विदेशीसहित करिब १० हजार जना सहभागी हुने भनिएको महोत्सव सम्पन्न गर्न करिब २४ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान छ।

असार १४, २०७९ मंगलबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।