कोटेश्वरमा हायसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

काठमाडौंः कोटेश्वरमा हायसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कोटेश्वरको राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख १२३१ नंको माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार सेनको गए राति मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दुर्घटनामा गम्भीर घाइते भएका सेनको उपचारका क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको बताए।
सोही दुर्घटनालगत्तै बालकुमारीबाट कोटेश्वर आउँदै गरेको प्रदेश३–०१–००६ख ०२९५ नंको ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा माइक्रोबसका सहचालक रामेछाप मन्थलीका २३ वर्षीय विमल सुनुवार घाइते भएका छन्।
घाइते सुनुवारको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए।
प्रहरीले दुर्घटनामा संलग्न माइक्रोबस र ट्रकलाई नियन्त्रणमा लिएको छ भने माइक्रोबस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता मैनालीले बताए।
दुर्घटनासम्बन्धी प्रहरी वृत्त बानेश्वरले आवश्यक अनुसन्धान गरिरहेको छ।
असार १४, २०७९ मंगलबार ०९:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।