सामी परियोजनाले वैदेशिक रोजगारीमा ठगिएकाहरूलाई दिलायो दुई करोड क्षतिपूर्ति

तनहुँः वैदेशिक रोजगारीका क्रममा ठगिएकाहरूलाई सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले रु दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ। आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो।
प्राप्त उजुरी एक सय पाँचमध्ये ५६ घटनाको पूर्ण रूपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ। विसं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सामी परियोजना सञ्चालन हुँदै आएको छ। सामी परियोजनाकी संयोजक लुना रानाका अनुसार यस आर्थिक वर्षमा आप्रवासी स्रोत केन्द्रमा एक सय १४ जनाको वैदेशिक रोजगारीका क्रममा आएका समस्या दर्ता भएकामध्ये ३५ वटा समाधान हुँदा सहजीकरणमार्फत रु तीन करोड ८३ लाख ४६ हजार क्षतिपूर्ति दिलाउन सहजीकरण गरिएको छ।
सामीले गत आवमा १२ र यस आवमा सात जना गरी १९ जनाको शव नेपालमा ल्याउन सहजीकरण पनि गरेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले जानकारी दिए।
असार १४, २०७९ मंगलबार ०७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।