सूर्या लाइफ र ज्योतीलाइफ इन्स्योरेन्सविच मर्जरको सहमति, अन्य विषय पछि टुङ्गिने

सूर्या लाइफ र ज्योतीलाइफ इन्स्योरेन्सविच मर्जरको सहमति, अन्य विषय पछि टुङ्गिने

काठमाडौँ : भटाभट ठुला बैङ्कहरू मर्जरमा जान थालेपछि अब इन्स्योरेन्स कम्पनीहरू पनि गाभिन थालेका छन्। सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच मर्जरमा जाने सहमति भएको हो।

दुबैबिच असार १२ मा सहमति पत्रमा हस्ताक्षर भएको हो। दुवै कम्पनीबिच मर्जरको सहमति भए पनि स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृत को हुने लगायतका विषय भने टुङ्गिएको छैन।  

स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृत लगायत मर्जर सम्बन्धी आवश्यक सबै विषयहरू कम्पनीहरूको डिडिए र  बीमा समितिबाट तोकिएको आधार लगायत,प्रचलित कानुन र मापदण्डको आधारमा हुने बताइएको छ।

सहमतीपछि बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ डीडीए लगायत मर्जर सम्बन्धी अन्य कार्यहरु द्रुत गतिमा अगाडि बढाइने जानकारी गराइएको थियो।

दुबै कम्पनीले नियमनकारी निकाय बीमा समितिबाट निर्देशित पुँजी वृद्धी गर्नुपर्ने समय सीमाभित्रै चुक्ता पुँजी वृद्धि गरी बीमा समितिको लक्ष्य अनुरुप बीमकहरुको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने विश्वास जनाएका थिए।

 

असार १३, २०७९ सोमबार २१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।