भारत-नेपालको संयुक्त कम्पनीले पायो पौने नौ अर्बको प्रहरी प्रतिष्ठान बनाउने ठेक्का, नेपाली कम्पनी विवादित

काठमाडौँ : नेपाल प्रहरीको काभ्रेमा बन्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने ठेक्का भारतीय कम्पनीले पाएको छ। निर्माणको ठेक्का कसलाई दिने भन्ने विषयमा सहमति हुन नसक्दा लामो समयदेखि निर्माण रोकिएको थियो।
प्रारम्भदेखि नै भारत भारती कम्पनीबाटै निर्माणको काम गराउन चाहन्थ्यो। सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निर्माणको ठेक्का भारतीय कम्पनी अहलुवालिया कन्स्ट्रक्सन प्राली भारत र नेपालको रोशन कन्स्ट्रक्सन संयुक्त भेन्चर एसिआइएल-आरसिपिएल जेभीले पाएको हो।
सो अनुसार सोमबार सम्झौता पत्रमा हस्ताक्षर समेत भयो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यज्यू र ठेकेदार कम्पनी कोतर्फबाट अहलुवालियाका अरुण साहीले हस्ताक्षर गरेका थिए।
रोशन कन्स्ट्रक्सन अध्यक्ष सञ्जयकुमार गुप्ता हुन् भने यसमा हरि भगत, अच्युत राउत र अरविन्दकुमार झा निर्देशक छन्। रोशन कन्स्ट्रक्सन हुलाकी मार्गका पुल निर्माणमा समेत संलग्न कम्पनी हो।
रुकुमको नयाँ सहर आयोजनाको भवन निर्माणको जिम्मा लिए पनि ढिला गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले यो कम्पनीलाई कालो सूचीमा राख्न गृह मन्त्रालयमा पठाएको थियो। भारतीय कम्पनी अहलुवालिया भारतको ठुला निर्माणमा संलग्न निर्माण कम्पनी हो।
भारत सरकारले २६ वर्ष अगाडि अनुदानमा प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने सहमति भएको थियो। तर डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा कसले बनाउने भन्ने विवाद लामो समयसम्म चल्दा निर्माणको कामले गति लिन सकेको थिएन।
अन्तमा भारतमा बनेको डिपिआर र बोलपत्रको मस्यौदा नेपाल सरकारले स्वीकृत गरेपछि बोलपत्र प्रक्रिया अगाडि बढ्न सकेको थियो।
भारतले २०५२ फागुनमा प्रतिष्ठान निर्माण गर्न अनुदान उपलब्ध गराउने सहमति गरेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा अनुदानमा एकेडेमी बनाउने सहमति भएको थियो। सरकारले एकेडेमी निर्माण गर्न काभ्रेको पनौती नगरपालिका–६, सुनथाना (दलिञ्चोक) मा ४२.४ हेक्टर जग्गा अधिग्रहण गरिसकेको थियो।
असार १३, २०७९ सोमबार २०:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।