प्रत्यक्षबाट सांसद हुन विनोद चौधरीको नजर नवलपुर–२ मा

प्रत्यक्षबाट सांसद हुन विनोद चौधरीको नजर नवलपुर–२ मा

काठमाडौँ : राजनीतिक विषयमा रिपोर्टिङ गर्ने केही पत्रकारहरूलाई होटेल भिभान्तामा डिनर गराएर आगामी निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा सहभागी हुने घोषणा गरेका उद्योगपति विनोद चौधरीले सो कार्यक्रममा कुन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने खुलाएनन्।

प्राय आर्थिक पत्रकारहरूसँग भेट्न रुचाउने चौधरीले शुक्रवार भने राजनीतिक पत्रकार त्यसमा पनि विशेष नेपाल प्रेस युनियनसँग आवद्धहरुलाई भिभान्तामा बोलाएर आफ्नो राजनीतिक अजेण्डाहरु सार्वजनिक गरेका थिए।

मधेसी कोटामा नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका उनले आफूले वडा तहदेखि नै प्रतिस्पर्धा गरेर  १४ औँ महाधिवेशनमा दिनभर सडकमा नमस्कार गरेर मतदाता रिझाएर केन्द्रीय सदस्यसम्म भएकाले अब समानुपातिकमा नभई प्रत्यक्ष निर्वाचनमै सहभागी हुने तर निर्वाचन क्षेत्र भने पार्टी नेतृत्वसँग छलफल गरेर तोक्ने दाबी गरेका थिए।

उनले कार्यक्रममा आफू एमालेबाट समानुपातिक सांसद हुँदा नै एमालेले नवलपुर १ बाट सांसदको उम्मेदवार बन्न भनेको तर कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाको क्षेत्र भएकाले आफू राजी नहुँदा एमालेसँग मतभेद बढेर कांग्रेसमा प्रवेश गरेको दाबी गरेका थिए।

उनले निर्वाचन क्षेत्र नतोके पनि नवलपुर क्षेत्र नम्बर २ बाट सङ्घीय निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको चौधरी निकट स्रोतले उकेरालाई जानकारी दियो। सो क्षेत्रमा एमालेका उम्मेदवारले जित्ने गरेको र मतमा धेरै भिन्नता समेत नरहेको र आगामी निर्वाचनमा गठबन्धन बन्दा अन्य दलबाट आउने मतको आधारमा निर्वाचित हुनसक्ने उनको आङ्कलन देखिन्छ।

गत निर्वाचनमा नवलपुर २ बाट एमालेका तिलबहादुर महत क्षेत्री विजयी भए। उनले ३९ हजार ५३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्की ३७ हजार ७२० मत ल्याएर पराजित भएका थिए। गत निर्वाचनमा एमाले र माओवादीबिच गठबन्धन बनेको थियो। यो पाली एमाले एक्लै हुने सम्भावना छ।

तर सो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीले दाबी गर्ने सम्भावना पनि उत्तिकै रहेको छ। तर काङ्ग्रेसबाट समानुपातिक सांसद भए पनि सबै दलका शीर्ष नेताहरूसँग राम्रो सम्बन्ध रहेकाले कांग्रेसले सो क्षेत्रमा चौधरीलाई नै टिकट दिने अवस्था आएमा एकीकृत समाजवादी ब्याक हुनसक्ने सम्भावना पनि उत्तिकै छ।

पत्रकारलाई भिभान्तामा डिनर खुवाउँदै विनोद चौधरीले गरे प्रत्यक्षमा चुनाव लड्ने घोषणा

आफू वडा तहदेखि नै चुनिएर कांग्रेसको केन्द्रीय सदस्य भएको चौधरीले दाबी गरे पनि तल्ला तहका मतदातासँग भने उनको निकटता निकै कम छ। उनी कांग्रेसको केन्द्रीय सदस्य भए पनि सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीनै छ।

केन्द्रीय सदस्य हुन पार्टीको सदस्य भएको पाँच वर्ष पुग्नुपर्नेमा चौधरी सो समय नपुगी उम्मेदवार बनेकाले उनी निर्वाचित भएको घोषणा रद्द गर्नुपर्ने माग गर्दै डा सुभाषचन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

पार्टीको निर्वाचन समिति अनि निर्वाचन आयोगमा दिएको निवेदन आफ्नो पक्षमा निर्णय नआएपछि उनी सर्वोच्च गएका हुन्। तर सर्वोच्चले पनि अहिलेसम्म सो रिट किनारा लगाउन सकेको छैन। उनी नेपालका एक मात्र फोर्ब्समा सूचीकृत अर्बपती भए पनि ट्याक्सदेखि लिएर दूरसञ्चार सेवा र विदेशमा कानुन छलेर भएका लगानीबारे पटक-पटक विवादमा आइरहन्छन्।

पछिल्लो समय एमाले सांसद गोकुल बास्कोटाले संसद्मा बजेटमाथि बोल्दै अर्थमन्त्रीले बजेट तयारी गर्दागर्दैको डकुमेन्ट पेन ड्राइभमा राखेर चौधरीको सानेपामा पुर्याएको आरोप लगाएका थिए। उनले गाडीमा भएको करको दरको हेरफेर समेत चौधरीको फाइदालाई हेरेर गरेको गम्भीर आरोप समेत लगाएका थिए।

असार १२, २०७९ आइतबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।