विज्ञानकै कारण चस्मा हटाए : प्रधानमन्त्री देउवा 

विज्ञानकै कारण चस्मा हटाए : प्रधानमन्त्री देउवा 

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञानको चमत्कारका कारण आफूले आँखामा चस्मा लगाउनु नपरेको बताएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टको नवौँ सम्मेलनको उद्घाटन समारोहमा नास्टका सहकुलपति डा. सन्दुक रुइतले आँखाको उपचारसम्बन्धी प्रिजेन्टेसन प्रस्तुत गरे पश्चात् बोल्दै प्रधानमन्त्री देउवाले सो बताएका हुन्। 

‘मैले पनि मेरो आँखाको सर्जरी सिंगापुरमा गरेको थिए। विज्ञानकै कारण सम्भव भएको आँखाको सर्जरीपछि मैले अचेल चस्मा नै लगाउनु परेको छैन। वास्तवमा अहिले मलाई चस्मा लगाउनु पर्दैन’ उनले भने, ‘डा. रुइतले आँखाको उपचारमा क्रान्ति नै गर्नुभएको छ। डा. रुइत नेपालका लागि मात्र नभई संसारभरको लागि एउटा प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ।’

‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रविधि’ भन्ने नाराका साथ नास्टको नवौँ सम्मेलन खुमलटारस्थित नास्टकै प्राङ्गणमा सोमबार देखि तीन दिनसम्मका लागि चलिरहेको छ। विज्ञान तथा प्रविधि सम्मेलन हरेक चार वर्षमा आयोजना हुने गर्छ। नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले सम्मेलनमा बोल्दै मुलुकको सर्वाङ्गीण विकासको लागि विज्ञानको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताए।

 ‘विज्ञानको महत्त्वपूर्ण भूमिकाबारे हामीले विकसित मुलुकबाट बुझिसकेका छौँ। विज्ञान र प्रविधिको विकासविना कुनै पनि राज्यले आर्थिक समृद्धि हासिल गर्न सक्दैन भन्ने तथ्य सर्वविदितै छ’ उनले भने,  ‘मुलुकको आर्थिक तथा सामाजिक विकासको लागि पनि विज्ञानको महत्त्वपूर्ण भूमिका हुने हुँदा यस क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। त्यसैले आगामी दिनहरूमा हाम्रा वैज्ञानिकहरू वैज्ञानिक अनुसन्धान, प्राविधिक क्रियाकलापहरूलाई शिक्षा, स्वास्थ्य, यातायात कृषि जस्ता महत्त्वपूर्ण कार्यक्षेत्रमा सक्रिय हुनुपर्छ।’ 

विज्ञानमार्फत परम्परागत प्रविधिलाई आधुनिकीकरण र बजारीकरण गरिनुपर्नेसमेत प्रधानमन्त्री देउवाले बताए। ‘यस किसिमका सम्मेलनले राष्ट्रका वैज्ञानिकको प्राविधिक क्षमता अभिवृद्धि गरी समाजको आवश्यकता र माग अनुरूप परिणाम मुखी प्रविधिको विकास र प्रबद्र्धनमा अमूल्य योगदान पुग्नेछ’ उनले भने, ‘त्यसको लागि परम्परागत प्रविधिबारे थप ज्ञान हासिल गरी तिनीहरूको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गरिनुपर्नेछ। यसले राष्ट्रको समृद्धिमा सहयोग पुग्ने हुन्छ।’ 

असार १२, २०७९ आइतबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।