वर्षाको प्रकोप: पोखरामा सडकसँगै घर भासियो

वर्षाको प्रकोप: पोखरामा सडकसँगै घर भासियो

पोखराः अविरल वर्षाका कारण पोखरामा सडकसहितै घर पनि भासिएको छ। पोखरा महानगरपालिका- ४ को फिर्केमा पोखरा- ५ जोडने सडक भासिएको हो।

सडक वारिपारि नै भासिएकाले आवात-जावत गर्न समस्या भएको चार नम्बर वडाका अध्यक्ष देवकृष्ण पराजुलीले बताए। केही दिनदेखि लगातार भइरहेको भीषण वर्षाका कारण फिर्केखोला नजिकैको बूढानीलकण्ठ किरियाकर्म घरको भवन भित्रका कोठाहरू भसिएको वडाध्यक्ष पराजुलीले जानकारी दिए।

सडक भासिएसँगै सडक किनारमा रहेको एउटा कच्ची घर समेत भ्वाङ परेको छ।

सडक भासिएपछि पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थलगत अनुगमन समेत गरेकी छिन्। गुरुङले तत्काल माटो ल्याएर भासिएको सडक पुरेर आवत-जावत गर्न मिल्ने बनाउन महानगरका कर्मचारीलाई निर्देशन दिएकी छिन्।

केही दिनदेखि पोखरा आसपासका क्षेत्रमा लगातार वर्षा भइरहेको छ। सडक, घर लगायतमा बाढी पहिरोले क्षती पुर्याइरहेको छ।

शनिबार बिहान पनि पोखारा–२५ को हेमजाको सुइँखेतमा खोलामा आएको बाढी बस्तीमा पस्दा सयौं घरमा क्षती पुगेको थियो। त्यहाँ दर्जनौं परिवार विस्तापित भएका छन्।

त्यसैगरी शुक्रबार पोखरा–१६ अर्मलामा पहिरो खस्दा आधादर्जन घरहरूमा क्षती पुगेको थियो।

असार १२, २०७९ आइतबार १०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।