लेखक सङ्घद्वारा एक लाख राशिको 'विशिष्ट लेखक पुरस्कार' घोषणा

लेखक सङ्घद्वारा एक लाख राशिको 'विशिष्ट लेखक पुरस्कार' घोषणा

काठमाडौंः नेपाली लेखक सङ्घले एक लाख रुपैयाँ राशिको 'विशिष्ट लेखक पुरस्कार' घोषणा गरेको छ। शनिबार काठमाडौंमा बसेको सङ्घको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने एक जना स्रष्टालाई एक लाख राशिसहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

सङ्घका अध्यक्ष तथा कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको सङ्घको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकले २०८० साल वैशाख १६ गतेदेखि 'लेखक दिवस' मनाउन सुरु गर्ने निर्णय गरेको छ। उक्त दिन नेपाली लेखक सङ्घका सबै प्रदेश कमिटी र जिल्ला शाखाहरूलाई 'लेखक दिवस' विशेष कार्यक्रमको आयोजना गरी मनाउन निर्देशन दिने र केन्द्रीय समितिले पनि भव्यताका साथ लेखक दिवस मनाउने बताइएको छ।

विसं. १९८७ सालमा निरंकुश राणा शासनविरुद्ध संगठित हुन सुरु गरिएको पुस्तकालय अभियानमा राज्यका तर्फबाट भएको ज्यादती 'पुस्तकालय पर्व 'का नामले परिचित छ। यस अभियानको क्रममा विसं. १९८७ वैशाख १६-१७ गते राज्यद्रोह गरेको नाममा पुस्तकालय अभियानमा संलग्न ४५ जना स्रष्टाहरूलाई राज्यका तर्फबाट विभिन्न मुद्दा लगाइ, दण्ड जरिवाना र जेल चलान गरेको थियोे।

स्रष्टाहरूले राजनीति परिवर्तनका लागि चालेको संगठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त दिनलाई नेपाली लेखक सङ्घले 'लेखक दिवस' मनाउने निर्णय गरेको हो ।

अध्यक्ष श्रेष्ठका अनुसार पुरस्कार वितरण गर्न नेपाली लेखक सङ्घले एक कार्यविधि निर्माण गर्नेछ।

असार १२, २०७९ आइतबार ०७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।