पत्रकारलाई भिभान्तामा डिनर खुवाउँदै विनोद चौधरीले गरे प्रत्यक्षमा चुनाव लड्ने घोषणा

काठमाडौँ : अर्बपति व्यापारी विनोद चौधरी जो पटक-पटक समानुपातिक कोटामा संसद् प्रवेश गर्दै आएका छन् अब उनले जनमतबाट चुनिए मात्र सांसद बन्ने घोषणा गरेका छन्।
झम्सीखेलस्थित होटेल भिभान्तामा पोलटिकल विषयमा समाचार लेख्ने केही पत्रकारलाई निम्त्याएर उनले अब आफू समानुपातिक सांसद नबन्ने र प्रत्यक्ष निर्वाचनमै प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए।
उनी पहिला एमालेबाट समानुपातिक कोटामा सांसद बनेका थिए। पछि कांग्रेस प्रवेश गरेर समानुपातिक सांसद भए। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मधेसी कोटामा केन्द्रीय सदस्य भएका उनको उम्मेदवार हुने योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा मुद्दा पुगेको थियो।
नेपाल समयमा प्रकाशित समाचार अनुसार उनले' ठुला कुरा गरेर, गफ गरेर परिवर्तन आउँदैन। परिवर्तन ल्याउन सडक र कार्यकर्ताको लेभलमै जानुपर्छ' भनेका थिए।
उनले ०७० सालमा एमाले शशाङ्क कोइरालाविरुद्ध चुनाव लड्न टिकट दिएको तर अस्वीकार गरेपछि एमालेसँग मनमुटाब सुरु भएको र ०७४ सालको निर्वाचनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्न सार्वजनिक आह्वान गरेपछि कांग्रेसमा आएको बताएका थिए।
नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार उनले भिभान्तामा अब समानुपातिकमा सांसद नबन्ने घोषणा गर्दै भने ‘म प्रत्यक्ष चुनाव लड्ने मनसायले लागिरहेको छु,’ उनले भने, ‘अन्तिम निर्णय त पार्टीले नै गर्ने हो । तर, पार्टीसँग सल्लाह हुन्छ। यो पक्का हो, फेरि समानुपातिकमा आउनेछैन।’
चौधरीले आगामी निर्वाचनमा कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्नेबारे भने भेटघाटमा खुलाएनन्।
कहिले अर्थमन्त्रीको चर्चा, कहिले कोषाध्यक्ष
कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने भएपछि चौधरीको नाम अर्थमन्त्रीका रूपमा चर्चामा आएको थियो। तर सो मन्त्रालय माओवादी केन्द्रको भागमा पर्यो। उनी कांग्रेस केन्द्रीय सदस्य भएपछि कोषाध्यक्षमा उनको नाम चर्चामा आयो।
केन्द्रीय सदस्य मध्यबाट कोषाध्यक्ष चयन हुने भएकाले उनी त्यसका लागि योग्य भइसकेका छन्। तर उनी केन्द्रीय सदस्य निर्वाचित भए पनि विधानतः उनको उम्मेदवारी नै अवैध भन्दै परेको मुद्दा छिनोफानो भइसकेको छैन। पार्टी सभापति देउवाले अन्यलाई कोषाध्यक्ष पनि मनोनीत गरेका छैनन्।
असार ११, २०७९ शनिबार २२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।