अवस्था जटिल बन्दै गए नेपाल प्रहरी र सशस्त्रका चिकित्सक पनि हैजा नियन्त्रणमा खटिनुपर्छ: गृहमन्त्री खाँण

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं लगायतका स्थानमा देखापरेकाे कलेरा (हैजा)बारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। गृहमन्त्री खाँणले शनिबार बिहान स्वास्थ्य सचिव डा. राेशन पाेखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डा. आशा सिंह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रूपक महर्जनसँग हैजाकाे अवस्था र राेकथाम गर्ने विषयमा छलफल गरेका हुन्।
मन्त्री खाँणले खानेपानीकाे अवस्था, पानीकाे परीक्षण, त्यसका तयारी लगायतका विषयमा जानकारी लिएका थिए। यस्तै सङ्क्रमित बिरामीकाे उपचारबारे पनि उनले जानकारी लिएका थिए।
सशस्त्र प्रहरी अस्पतालका प्रमुख डा. महर्जनले कलेराकाे अहिलेकाे अवस्था र राेकथामबारे भएका तयारीबारे गृहमन्त्री खाँणले जानकारी लिएकाे बताए।
गृहमन्त्री खाँणले अवस्था जटिल बन्दै गएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सञ्योजनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चिकित्सकहरूले पनि हैजाकाे राेकथाम र नियन्त्रणमा खटिनुपर्ने अवस्था आउनसक्ने भन्दै त्यसका लागि तयारी अवस्थामा रहन निर्देशन दिए।
उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा खानेपानीको अवस्थाबारे जानकारी लिँदै जवानहरूलाई कलेराले प्रभावित पार्न नदिन विशेष ध्यान दिन पनि निर्देशन दिएका थिए। यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हैजा प्रभावित क्षेत्रकाे अवलाेकन गरी स्थानीयमा हैजा फैलने अवस्था कस्ताे छ?, राेकथामका लागि के के उपाय अपनाइएको छ? भन्नेबारे जानकारी लिन पनि आग्रह गरे।
असार ११, २०७९ शनिबार १२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।