तेह्रथुममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

तेह्रथुमः जिल्लाको लालीगुराँस नगरपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै ट्र्याक्टर वसन्तपुर बजारछेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्र्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो।
दुर्घटनामा सोही स्थानका ट्र्याक्टर चालक २२ वर्षीय जयन्तकुमार लिम्बू र ट्र्याक्टरमा सवार २२ वर्षीय ललितकुमार मगर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक भुवन विकले बताए।
गम्भीर घाइते दुवैलाई वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको विकले बताए।
राति बाक्लो हुस्सु लागेका कारण चालकले सडक देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
असार ११, २०७९ शनिबार ११:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।