सीआईबीको अनुरोध: ठगीजन्य कार्यबाट बच्नू

सीआईबीको अनुरोध: ठगीजन्य कार्यबाट बच्नू

काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै सचेत हुन अनुरोध गरेको छ। सीआईबीले एक सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा प्रहरीलाई सूचना दिन समेत अनुरोध गरेको छ।

पछिल्लो समय नेपालमा अवैध ऋण लगानी (मिटर ब्याज) गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दा समेत तमसुक, चेक वा दृष्टीबन्धक जग्गा फिर्ता नदिई उठीवास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिठ्ठा, उपहारका नाममा ठगी, सस्तो मुल्यमा सामान पठाई दिने भनी ठगी गर्नेजस्ता घटना देखिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए।

यस्तै विदेशी नागरिकको आवरणमा आकर्षक गन्तव्यमा पठाई दिने, विवाह गर्ने, व्यापारिक साझेदार बनाउने वा सामाज सेवाका नाममा डलरले भरिएका बाक्साका फोटो देखाई एवं झुठा श्रव्य दृष्य सामग्रीसमेत पठाई भ्रममा पारी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी नजिकका व्यक्ति बनी आकस्मिकरूपमा फोनका माध्यमबाट पैसा मागी ठगी गर्ने, मोबाइल बैंकिङका पासवर्ड र बैंकका विवरण मागी रकम झिक्ने, सामाजिक सञ्जालमा भिडियो कल गरी अश्लील फोटो तथा भिडियो लिई अपलोड गरिदिने धम्कि दिई आपराधिक लाभ लिने, नेपालीको बैंक खातामा अवैध रकम जम्मा गर्न लगाई हुण्डीमार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिलाई पैसा दिन लगाई आपराधिक कार्यमा संलग्न गराउने कार्य भएको भनी प्रहरीमा उजुरीसमेत परेको छ।

नेपालमा क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्किङ आदिबाट धेरै गुणा प्रतिफल दिने भनी प्रलोभनमा पारी ठगी गर्ने कार्यसमेत देखिएको जनाउँदै ब्यूरोले यस्ता अवाञ्छित कार्यका सम्बन्धमा सचेतना बढाई सजगता अपनाउन र ठगीबाट बच्न अनुरोध गरेको छ।

यस्ता अपराधविरुद्ध जाहेरी प्राप्त भएको अवस्थामा प्रहरीले अनुसन्धान गरी कानुनबमोजिम कारबाही समेत गरिरहेको जनाएको छ। यस्तै घटनामा संलग्न नवलपरासीका सुनिलकुमार गुप्ता र जगदिश कानुलाई पक्राउ गरी अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।

असार ११, २०७९ शनिबार ०९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।