मौन रामकुमारी, अवसरवादी आले : दिनभर एकीकृत समाजवादीमा जे भयो

मौन रामकुमारी, अवसरवादी आले : दिनभर एकीकृत समाजवादीमा जे भयो

काठमाडौँ : छ–छ महिना मन्त्री हुने सहमति अनुसार सरकारमा गएका चार मन्त्रीलाई फिर्ता गरेर चार नयाँ अनुहार पठाउने पार्टीको निर्णय कार्यान्वयन नभएपछि सकसमा परेको एकीकृत समाजवादीले शुक्रवार पोलिटब्युरोको बैठक राखेको थियो।

बैठक अगाडी नै लेटर बमको रूपमा १० सांसदको ध्यानाकर्षण पत्र आयो जसमा नेतृत्वमाथि आरोप मात्रै थिएन मन्त्री कसरी छान्ने भन्ने निर्देशन समेत थियो।

८ बुँदे सो पत्रमा फिर्ता हुनुपर्ने चार मन्त्रीको मात्रै हस्ताक्षर थिएन अन्य छ सांसदहरूले पनि हस्ताक्षर गरेका थिए। ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका थिए विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठले। अनि सांसदहरू कृष्ण लाल महर्जन, गोपालबहादुर बम, विना देवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले समेत पत्रमा हस्ताक्षर गरे।

पत्र आएपछि समाजवादीको नेतृत्व थप आक्रोशित भए। उनीहरूले यसलाई नेतृत्वलाई धम्क्याउने प्रयास गरेको रूपमा बुझे। ध्यानाकर्षण पत्रमा मन्त्री फिर्ता बोलाउन गरिएको निर्णय प्रक्रियामा मात्रै हैन छनौटमा पनि प्रश्न उठाइएको थियो।

पत्रमा बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने, स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भन्दा पनि अपराधीलाई जस्तो व्यवहार गरिएको, प्रधानमन्त्रीलाई दबाब दिएको, प्रस्ताव गरिएका नयाँ मन्त्रीहरूको नामावली असमावेशी र असन्तुलित, गैर सांसद र एकै जिल्लाबाट दुई जना एकै पटक मन्त्रीमा सिफारिस गरिएको भन्दै उनीहरूले तत्काल संसदीय दलको बैठकको माग गरेका थिए।

यसलाई नेतृत्वले स्वाभाविक रूपमा लिएन। यसमा पनि मन्त्रीबाट फिर्ता हुँदै गरेका आले र श्रेष्ठ पुरानै पार्टी एमालेमा फर्कन छलफलमा रहेको सूचना पार्टीका केही नेताहरूले पाइसकेका थिए। तै पनि उनीहरू ब्याक हुनेभन्दा प्रधानमन्त्री शेरबहादुर देउवादेखि आफ्नै पार्टीका मन्त्रीहरूलाई धम्क्याउन केन्द्रित देखिए।

शीर्ष नेतृत्व मात्रै हैन एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफ्नै पार्टीकी मन्त्री रामकुमारी झाँक्री लक्षित आरोपहरू सार्वजनिक गरेर विवादको राप अझ बढाए।

उनले झाँक्रीको नाम लेखेनन्। तर 'केपी ओलीविरुद्धको आन्दोलनमा मुखमा टेप लगाएर गरेको भाषण खोक्रो आदर्श र स्टन्टमात्र रहेछ, मन्त्री बन्नेबाहेक अन्य कुनै उद्देश्य रहेनछ' लेखेकाले यो झाँक्रीलाई भनेको हो भन्नेमा शङ्का भएन।

यसैले पनि होला पोलिटब्युरोको बैठकमा झाँक्री ढिला आइन्। पत्रकारसामु सधैँ फरासिली देखिने उनी शुक्रवार बोल्नै चाहिनन्।

बैठकमा माधव नेपाल असन्तुष्ट मन्त्रीहरूलाई फकाउने गरी पेस भए। उनले देशभक्ति र राष्ट्रभक्ति सम्झाउँदै 'पार्टी सङ्गठन मजबुत बनाए मात्र पार्टी बलियो हुने' भन्दै पार्टीको निर्णय मान्न अप्रत्यक्ष रूपमा आग्रह गरे।

केही नेताहरूले भने अहिले पार्टीले भनेको नमाने भोलि मन्त्रीका लागि अयोग्य ठहर गर्नुपर्ने भन्दै धम्क्याए।

पार्टीका सम्मानित नेता झलनाथ खनालले ‘पार्टीको सचिवालयले गरेको निर्णय कारबाही गर्छ भन्दै धम्क्याए।

बागमती प्रदेशका मुख्यमन्त्री तथा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले पत्र पठाउने १० सांसदले पार्टी छाड्नै नसक्ने ठोकुवा गर्दै भने' ‘उहाँहरूले पार्टी छोड्न सक्नुहुन्न। उहाँहरूसँग छोड्ने तागत छैन। छोड्न नपर्ने हुनाले छोड्दिऊ–छोड्दिऊ भनेका हुन्।'

सकेसम्म सरकारबाट ब्याक हुनुपर्ने वातावरण बनाउन सक्रिय प्रेम आलेले बैठकमा बोल्दै १२ घण्टा समय मात्र मागेनन् सबै साथीहरू सरकारबाट फिर्ता आउने वातावरण समेत बनाउने भन्दै साखुल्ले पल्टिए।

अनि शनिवार बेलुकासम्म सबै फिर्ता हुनुभन्दै पोलिटब्युरो बैठक सक्कियो। राजेन्द्र पाण्डेले घोषणा गरे' शनिवार बेलुकासम्ममा पार्टी निर्णय कार्यान्वयन हुन्छ।'

यो प्रकरणमा सबैभन्दा रुष्ट विरोध खतिवडा र रामकुमारी झाँक्री देखिएका छन्। तर उनीहरू सार्वजनिक टिप्पणी गरिहाल्ने मुडमा देखिएका छैनन्।  खतिवडाले सफ्ट भाषामा असन्तुष्टि जनाइरहेका छन्। तर एकीकृत समाजवादी दर्ता गर्दा माधव नेपाललाई दोहोर्याएकी झाँक्री भने मौन छिन्।

असार १०, २०७९ शुक्रबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।