दुई करोड लिएर इच्छाराजलाई धरौटीमा छाड्ने छलफल गर्ने न्यायाधीश छानबिनमा तानिए

दुई करोड लिएर इच्छाराजलाई धरौटीमा छाड्ने छलफल गर्ने न्यायाधीश छानबिनमा तानिए

काठमाडौँ : सहकारी ठगीका अभियुक्त इच्छाराज तामाङलाई धरौटीमा छाड्न घुसबारे भएको कुराकानी बाहिरिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई काम गर्न रोकिएको छ।

न्यायपरिषद्को बुधवार बसेको बैठकले छानबिन प्रक्रिया पूरा नहुँदासम्म उनलाई कुनै कार्यसम्पादनमा पनि सहभागी नगराउने निर्णय गरेको हो। मङ्गलवार न्युज२४ टेलिभिजनले कोइराला र अधिवक्ता रुद्र पोखरेलबिच तामाङलाई धरौटमा छाड्ने आदेश दिए बापत २ करोड पैसा आउनेबारे भएको कुराकानीको अडियो सार्वजनिक गरेको थियो।

अडियो रेकर्ड सार्वजनिक भएपछि बुधवार न्याय परिषद्को बैठक बसेर परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्दै उनलाई प्रतिवेदन नआएसम्म कुनै काम गर्न नदिने निर्णय गरेको हो।

समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल सदस्य छन् । न्यायपरिषद्ले समितिलाई छानबिनका लागि ४५ दिनको समय दिएको छ।

न्यायाधीश कोइरालाले फेसबुकमा समाचारबारे ध्यानाकर्षण भएको भन्दै कुनै अनुचित कार्य नभएको र विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको लेखेका छन्। उनले न्याय परिषद्बाट हुने छानबिनमा सहयोग गर्ने उल्लेख गरेका छन्।

बचतकर्ताहरूको आठ अर्ब बढी रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी अनुसन्धान गरेको तामाङ पुर्पक्षका लागि थुनामा छन्। सो अडियोमा अभियोग पत्रमा भएका कमजोरीहरू उल्लेख गर्दै उनलाई धरौटीमा छाड्न सकिने र धरौटीमा छाडेमा २ करोड आउने उल्लेख भएकाले सो अडियो तामाङबारे अदालतबाट थुनछेकको आदेश आउनु अगाडिको रहेको देखिन्छ।

असार ८, २०७९ बुधबार १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।