दुई करोड ४४ लाख बिगो दाबीसहित पूर्वसुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

दुई करोड ४४ लाख बिगो दाबीसहित पूर्वसुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय (जिप्रका) धनुषामा कार्यरत तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ बिगो दाबी गरिएको छ। 

झाले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो। 

अनुसन्धान हुँदा झाले २०३९ मंसिर ९ गते गाविस सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्चात विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साल श्रावण महिनाबाट अवकाश पाएको देखिएको थियो। 

परीक्षण अवधि २०३९–४० देखि २०७७-७८ सम्ममा उनले २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ। व्ययतर्फ ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ।

अनुसन्धानका क्रममा झाले २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ अवैध आर्जन गरेको पाइएको हुँदा उनीविरुद्ध मुद्दा दायर गरिएको बुधबार एक विज्ञप्ति जारी गरी अख्तियारले जनाएको छ। 

असार ८, २०७९ बुधबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।