स्वतन्त्र अभियान्तालाई तपाई रविको पार्टीको हो भन्ने प्रश्न आउन थालेपछि निर्वाचन आयोगमा उजुरी

काठमाडौँ : संचारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि दिएको निवेदनले स्वतन्त्र उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको छ।
स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले ध्यानाकर्षण गराउँदै स्वतन्त्र शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरेका छन्। स्वतन्त्रको नाममा भ्रम फैलाउनुभयो भन्ने हो, अवसरवादीको रोल खेल्नुभयो भन्ने हो। युवाहरु राजनीतिमा आउनुपर्छ,’ साहुले भने ‘स्वतन्त्र अभियानको माहोल चल्यो सबैलाई समेटेर लैजान्छु भन्ने भ्रम फैलियो। स्वतन्त्र साथिहरुलाई तपाई रविको पार्टीको हो भनेर प्रश्न आउन थाल्यो यसको उत्तर दिनका निमित्त पनि उहाँले स्वतत्र शब्द हटाउनुस् भनेका हौं।’
'कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्रको उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ।’ उजुरीे पत्रमा भनिएको छ।
स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति÷समूह–संस्थालाई गम्भीर आघात पुगेको बताइएको छ। साहुले निर्वाचन आयोगमा दर्ता गराएको पत्रमा भनिएको छ, ‘परम्परागत राजनीतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजन सहितका युवाहरु राजनीतिमा आउनु स्वागत योग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरुले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा स्वतन्त्र शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु।’
त्यस्तै स्वतन्त्र उम्मेदवारको विमति राख्दै फिल्म निर्देशक मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोशाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी पेश गरेका छन्।
‘स्वतन्त्र’ नामले स्वतन्त्र अभियानमा असर पुर्याएको भन्दै उनीहरुले सो पार्टीको दल दर्ता रोक्न माग गर्दै उजुरी दिएका हुन्। ‘स्वतन्त्र शब्दको आफैंमा महत्व रहेको र दलिय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरुलाई उत्पन्न असहज परिस्थितिको निर्माण हुनेछ,’ आयोगमा दर्ता गराइएको उजुरीमा भनिएको छ, ‘स्वतन्त्र शब्दको अर्थकै अपब्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिन हुन अनुरोध गर्दछौं।’
निर्वाचन आयोगले दुर्व निवेदन र नयाँ दल दर्ताको आवेदनसँगै राखेर अध्ययन गर्ने प्रवक्ता शालिग्रामशर्मा पौडेलले उकेरालाई जानकारी दिए।
असार ८, २०७९ बुधबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।