राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष ओली

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। पूर्वराजदूत समूहले आज संघीय राजधानी काठमाडौँमा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिला’ विषयक साक्षात्कार कार्यक्रममा उहाँले नेपाल जस्तो देशका लागि कूटनीतिक सम्बन्धबारे दलहरुबीच सहमति आवश्यक भएको उल्लेख गरे।
पूर्वप्रधानमन्त्री ओलीले राजनीतिक दलले परराष्ट्र मामिलामा सहमतिका साथ अगाडि बढ्न आवश्यक रहेको बताए। 'दलहरुबीच प्रतिस्पर्धा, सहमति र सहकार्यको राजनीति आवश्यक छ', उनले भने। सरकारले प्रतिपक्षामा रहेको दलसँग परामर्श गर्नुपर्ने उनको भनाइ थियो। विदेश सम्बन्ध राष्ट्रिय हितमा केन्द्रीत हुनुपर्ने अध्यक्ष ओलीले बताए।
अध्यक्ष ओलीले छिमेकी मुलुकसँग भरपर्दो, विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए। 'हामी स्वाधिन छौँ। हामी आफ्ना आन्तरिक वा बाह्य नीति निर्णय गर्न स्वतन्त्र छौँ। कसैबाट शासित हुनुपरेको छैन,' उनले भने। छिमेकीसँगको सम्बन्धलाई बढी महत्व दिनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष ओलीले छिमेकीसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए। 'छिमेकीसँग समस्या भए छलफल गरी समाधान गर्नुपर्छ। हामीले आफ्ना कुरा खुलस्तसँग राख्न सक्नुपर्छ', उनले भने। राजनीतिक खटपट नभएको भए कालापानी, लिपुलेक र लिम्पियाधुरा वा अन्य सीमा समस्या अहिलेसम्म समाधान भइसक्ने अध्यक्ष ओलीको भनाइ थियो।
एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय हितको प्रश्नमा सत्ता र प्रतिपक्षको अलग अलग विचार हुन नहुने बताए। उनले अहिले राजनीतिक दलबीच राष्ट्रिय हितका विषयमा छलफल हुन छाडेको भन्दै राष्ट्रिय हितका विषयमा प्रतिपक्षसँग पनि छलफल गर्नुपर्ने बताए।
पूर्वराजदूत दीपकुमार उपाध्यायले छिमेकीसँगको चुरो समस्या के हो भनेर केलाउन नसकेको बताए। पूर्वराजदूत योगेन्द्र ढकालले चीन, भारत र अमेरिकासँग कूटनीतिक तबरबाट कुरा राख्नुपर्ने सुझाव दिए।
पूर्वराजदूत अर्जुन कार्कीले छिमेकीसँग सम्झौता गर्दा विज्ञ समूहको सुझाव लिनुपर्नेमा जोड दिए। पूर्वराजदूत टङ्क कार्कीले परराष्ट्रका सिद्धान्त र नीतिलाई व्यवहारिक रुपमा कार्यन्वयन गर्नुपर्ने उल्लेख गरे। पूर्वराजदूत डा अञ्जना शाक्यले परराष्ट्र र राष्ट्रिय हितलाई टेकेर अघि बढ्नुपर्ने सुझाव दिए।
असार ७, २०७९ मंगलबार १८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।