टिकटके प्रेमले कृष्णकुमारलाई पुर्‍यायो हिरासत

टिकटके प्रेमले कृष्णकुमारलाई पुर्‍यायो हिरासत

काठमाडौँ : टिकटकमा भेट भएकी युवतीसँग विवाह गर्न चाहिने खर्च जुटाउन आफ्नै अपहरण भएको नाटक रचे ३१ वर्षीय कृष्णकुमार शर्माले। अहिले त्यही नाटकले उनी आफैँ भने प्रहरी हिरासतमा पुगेका छन्।

सप्तरी राजगढका उनी ललितपुरको इमाडोलमा डेरामा बस्दै आएका थिए। उनी असार १ गते घरमा पैसा पठाउन भन्दै डेरामाबाट निस्किएपछि सम्पर्कहीन भएका थिए। उनको मोबाइलको स्विच अफ थियो। उनी सम्पर्कमा नआएपछि आफन्तले असार २ गते प्रहरी वृत्त सातदोबाटोमा उनी हराएको भन्दै निवेदन दिए।

यता हराएको निवेदन परे लगत्तै उता उनको आफन्तको मोबाइलमा 'कृष्णलाई मार्नको लागि ८ लाख रुपैयाँ प्राप्त भइसकेको तर, २० लाख रुपैयाँ दिए अपहरणमुक्त गरिदिने भन्दै मेसेज आउँछ। मेसेजपछि उनी अपहरणमा परेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले यो घटनाबारे अनुसन्धान सुरु गर्छ।

मेसेजमा पैसा बुझाउने समय दुई दिन दिइएको थियो। म्यासेजसँगै रगत लागेको कृष्णकुमारको भिडियो समेत पठाएका थिए।

भिडियोमा उनको मुखबाट रगत बगेको थियो भने कपडामा पनि रगत लागेको थियो। प्राविधिक अनुसन्धानमा उनलाई मोरगं क्षेत्रमा बन्धक बनाएर राखेको खुलेपछि कार्यालयले मोरगं प्रहरीको सहयोग लिन्छ। मोरगं प्रहरीले उनलाई सकुशल अपहरणमुक्त गर्छ। तर कुनै अपहरणकारी फेला पर्दैनन्।

काठमाडौँ ल्याएर अनुसन्धान अगाडि बढाउँदा उनले टिकटकमा भेटिएकी युवतीसँग प्रेम भएकाले विवाह गर्नका लागि आफ्नो अपहरण भएको नाटक गरेको खुल्छ। अनि प्रहरीले दुख दिएको भन्दै उनी विरुद्ध सार्वजनिक उपद्र्याइँ गर्न नहुने कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखेको छ।

असार ७, २०७९ मंगलबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।